नेभिगेशन
राजनीति

राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छ : सञ्चारमन्त्री

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ–भोटिङ को व्यवस्था गर्न सकिने बताएका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका व्यवसायीहरूको तेस्रो क्यान बीटुबी समिट २०२५ मा उनले यस्तो बताएका हुन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको आयोजनामा पुल्चोकस्थित द प्लाजामा आयोजित सम्मेलनमा मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । ‘सूचना प्रविधिको यो युगमा पनि अर्बौं खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुःखद छ,’ उनले भने, ‘डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन ।’

डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको उनले उल्लेख गरे । सरकार निर्वाचनको तयारीमा जुटेको र जेन–जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका अतिथिले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्