बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । १,१२६ मिटर लम्बाइको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ ।
सुरुङ मार्गसम्म पुग्ने सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायतका संरचनाको निर्माण गर्ने काम भइरहेको छ । सुरुङका लागि २,३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण गर्ने काम बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने आयोजनाले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे । मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन पनि दिएका छन् ।
‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएको लगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन’, उनले भने ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुन २५ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम २०८३ चैत महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १,८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदमा समेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । सो समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।