नेभिगेशन
अर्थतन्त्र

धानखोला–लमही सडकका लागि ठेक्का सम्झौता

काठमाडौं – मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य कार्यान्वयन गर्न २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ३९ करोड ४० लाख ८ हजार २ सय ७० रुपैयाँ) मा २ वटा सम्झौता गरिएको छ । नेपालमा एमसीसी कम्प्याक्टका आयोजना कार्यान्वयन गरिरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही सडक खण्ड मर्मत तथा स्तरोन्नति गर्न निर्माण कम्पनीसँग तथा स्तरोन्नति कार्यको सुपरिवेक्षण गर्ने परामर्शदाता कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको हो ।

सडक मर्मत तथा स्तरोन्नति गर्न सोमबार आयोजित कार्यक्रममा शर्मा/कुमार संयुक्त उपक्रम (जेभी) सँग २ करोड अमेरिकी डलर (२ अर्ब ८६ करोड ४१ लाख ४२ हजार रुपैयाँ) मा ठेक्का सम्झौता भएको छ । धानखोलादेखि लमहीसम्म पर्ने सडक खण्डको फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न सो सम्झौता भएको एमसीए नेपालले जनाएको छ ।

सम्झौतामा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र जेभीका आधिकारिक प्रतिनिधि सौरभ शर्माले हस्ताक्षर गरेका छन् ।

यस्तै, धानखोला–लमही सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडकको आवधिक मर्मत कार्यको सुपरिवेक्षण गर्न परामर्शदाता पनि नियुक्त गरेको छ । एमसीए नेपालका अनुसार परामर्श सेवाका लागि इण्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग ३६ लाख ६० हजार अमेरिकी डलर (५२ करोड ४१ लाख ३७ हजार ९ सय ८६ रुपैयाँ) मा सम्झौता भएको छ ।

निर्माण कम्पनीसँगको ठेक्का सम्झौतापछि नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले एमसीसी कम्प्याक्टअन्तर्गत हुने लगानीले नेपालको सडक पूर्वाधार निर्माणमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग हुनुले सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वाेत्कृष्टतालाई चिनाउने दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्