नेभिगेशन
राजनीति

जाँचबुझ आयोगले लेखकलाई बोलायाे

काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ । आयोगले मंगलबार पत्र काटेको हो । पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको आयोग स्रोतले बताएको छ ।

तर लेखकले भने पत्र पठाएको भन्ने खबर सुनेको भए पनि पाइनसकेको बताए । उनले भने, ‘पत्र काटेको कुरा मिडियाबाट थाहा पाएको छु। पत्र पाइसकेको छैन । बयान दिन जाने नजाने कुरा पत्र पाएपछि तय गर्छु।’ जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले अधिक बल प्रयोग गर्दा डेढ दर्जन बढीको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । तर, ओलीले भने बयानका लागि नजाने यसअघि नै बताइसकेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सरकारले गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको छ । यसैबीच आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसहित पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको स्थानहद फुकुवा गरेको छ । मंगलबार आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै उनीहरूलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउनेगरी यसअघि गरिएको निर्णय फुकुवा भएको जानकारी गराइएको छ । भदौ २३ र २४ को घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानमा रहेको भन्दै आयोगले खापुङ, दुवाडी र रिजाललाई उपत्यकाबाट बाहिर निस्कन र विदेश जान रोक लगाएको थियो । उनीहरू तीनै जनाको बयान आयोगले लिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्