नेभिगेशन
अर्थतन्त्र

सुन महँगो, चाँदी झन् महँगाे

भूराजनीति, डलर अवमूल्यन र केन्द्रीय बैंक खरिद बढ्दा मूल्यवृद्धि

काठमाडौं । सुनचाँदीको मूल्य बढेर मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला ५ हजार ५०० र चाँदी २० रुपैयाँ बढेर नयाँ उचाइमा पुगेको हो । सुनको कारोबार मूल्य तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ र चाँदीको ४ हजार २५५ रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा मात्रै नभएर सुनको मूल्य विश्वभर महँगीएको छ । अन्तर्राष्ट्रिय बेन्चमार्कमा मंगलबार सुनको मूल्य प्रतिऔंस ४,५३० अमेरिकी डलरसम्म पुगेको थियो । मंसिर २४ गते ४,२०७ अमेरिकी डलर प्रतिऔंस रहेको मूल्य त्यसपछिको १३ दिनमा ३२३ अमेरिकी डलर बढेको छ । यद्यपि मंगलबार दिउसो सुनको मूल्य प्रतिऔंस ४,५३० डलर पुगेकोमा साँझ घटेर ४,४७० डलर हाराहारीमा झरेको छ । सुनको मूल्य निरन्तर बढ्नुलाई विश्वव्यापी आर्थिक र राजनीतिक घटनाक्रमसँग जोडेर हेर्नुपर्छ । विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, युद्ध र भूराजनीतिक तनावले लगानीकर्ताहरूलाई सुरक्षित लगानीतर्फ उन्मुख गराएको छ । यस्तो अवस्थामा सुनलाई सबैभन्दा सुरक्षित सम्पत्तिका रूपमा लिइने भएकाले यसको माग तीव्र रूपमा बढेको छ ।

विशेषगरी चीन, भारतलगायत ठूला अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकहरूले सुन खरिद बढाएका छन् । विदेशी मुद्रा सञ्चिति सुरक्षित राख्ने र डलर निर्भरता घटाउने उद्देश्यले केन्द्रीय बैंकहरू सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य चर्किएको हो ।

अमेरिकी डलरको उतारचढाव, ब्याजदरसम्बन्धी अनिश्चितता र विश्वव्यापी महँगीले पनि सुनको मूल्यलाई माथि धकेलेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको देखिन्छ ।

व्यवसायीहरूका अनुसार जबसम्म अन्तर्राष्ट्रिय राजनीतिक तनाव र आर्थिक अनिश्चितता कायम रहन्छ, तबसम्म सुनको मूल्य घट्ने सम्भावना न्यून छ ।

रुस–युक्रेन युद्ध, मध्यपूर्वमा जारी तनाव तथा विभिन्न क्षेत्रमा बढ्दो राजनीतिक अस्थिरताले विश्व बजारलाई अझै अस्थिर बनाएको छ । यस्तो अवस्थामा लगानीकर्ताहरूले सुनलाई सुरक्षित आश्रयका रूपमा रोज्दा मूल्य थप माथि गएको देखिन्छ ।

अर्कोतर्फ, अमेरिकी डलरको उतारचढाव, ब्याजदरसम्बन्धी अनिश्चितता र विश्वव्यापी महँगी पनि सुनको मूल्यवृद्धिका कारण बनेका छन् । उत्पादन सीमित र माग निरन्तर बढ्दो रहेकाले आगामी दिनमा पनि सुनको मूल्य उच्च नै रहने अनुमान छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण नेपालमा पनि बढेको बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको कारण रुस–युक्रेन युद्ध, अमेरिका–भेनेजुएलाबीच द्वन्द्व बढ्नु, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर अवमूल्यन हुनु, फेडरल रिजर्भले ब्याजदर घटाउनु र चीन लगायत देशका केन्द्रीय बैंकले सुन खरिद बढाउनु रहेको शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारको असर प्रत्यक्ष रूपमा नेपाली बजारमा पर्ने भएकाले मूल्य नियन्त्रण नेपालभित्रबाट सम्भव नहुने अवस्था छ । उनले सुन किन्दा जोखिम र बजार अवस्थाबारे सचेत हुन उपभोक्तालाई सुझाव समेत दिएका छन् । यद्यपी मूल्य बढेपछि बिक्री घटेको उनले बताए । सुन महँगीएपछि पसलमा सुन किन्न आउनेहरू नै घटेको उनले बताए । त्यस्तै मूल्य अझै बढ्ने देखिएपछि बेच्न आउनेहरू पनि नरहेको उनले बताए ।

एक वर्षमा चाँदीको मूल्य एक सय प्रतिशत र सुन ६५ प्रतिशतभन्दा धेरै बढेको छ । व्यवसायीहरूले सुन र चाँदीको मूल्य थप बढ्ने अनुमान गरिरहेका छन् ।

सुनको मूल्यमा आएको यो वृद्धिले विवाह, चाडपर्व तथा गरगहना खरिद गर्ने उपभोक्तालाई भने थप आर्थिक भार परेको छ । किनभने सुनचाँदी व्यवसायीले सार्वजनिक गर्ने मूल्य गरगहना बनाउन भन्दा पहिलाको सुनको हो । गरगहना बनाउँदा ज्याला र जर्तिको लागत समेत जोडिने भएकाले एक तोलाको सुनको गहना किन्न बजारमूल्यभन्दा धेरै पैसा तिर्नुपर्ने हुन्छ ।

बिगतमा सुन बढ्दा पनि चाँदी बढ्ने गरेको थिएन । यसपटक चाँदी पनि अस्वाभाविक तवरले महँगरिएको छ । बजार विश्लेषहरूका अनुसार औद्योगिक क्षेत्रबाट बढेको मागले चाँदीको मूल्य बढाएको हो । संसारभर सोलार ऊर्जाका प्लेट र विद्युतीय सवारीका पाटपुर्जामा प्रयोग बढ्दा चाँदीको माग बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्