नेभिगेशन
राजनीति

संशय टार्न राष्ट्रपतिको सक्रियता

काठमाडौं । सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ । निर्वाचन आयोगले तयारी अगाडि बढाएको छ । दलहरू दर्तामा आए, तर संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा रिट हाल्न पनि पुगेका छन् । ठुला दलका शीर्ष नेता फागुन २१ गतेका लागि घोषित निर्वाचन हुनेमा ढुक्क छैनन् । यो अन्योल चिर्न राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई सहभागी गराएर तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् । शीतल निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग छलफल गरेका हुन् । उक्त छलफललाई संसद् पुनःस्थापनातर्फ जोड दिन थालेका ओली र देउवालाई निर्वाचनतर्फ मनाउने प्रयासका रूपमा हेरिएको छ ।

मुख्य दुई दल एमाले र कांग्रेसले संसद् पुनःस्थापनातर्फ बढी जोड दिन थालेपछि राष्ट्रपति पौडेल सहमति जुटाउन आफैं अघि सरेका हुन् । राष्ट्रपति पौडेल फागुन २१ कै मितिमा निर्वाचन हुनुपर्नेमा दृढ देखिन्छन् ।

शीतल निवासमा भएको बैठकमा निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको बताइएको छ । करिब अढाइ घण्टा भएको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले छलफलमा देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भन्दै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । राष्ट्रपति भवनमा यस्तो सहमति जुटेपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई छलफलमा बोलाउन प्रधानमन्त्री कार्कीका लागि सहज हुने ठानिएको छ । राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने,‘देशको परिस्थिति संवेदनशील भएकाले निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो ।’ 

जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचन गर्नेगरी राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, कार्कीले एमाले र कांग्रेसका प्रमुखसँग संवाद गर्न नसक्दा चुनावको वातावरण बन्न नसकेको दलका नेताहरूले बताउँदै आएका छन् । प्रधानमन्त्री कार्कीले सोमबार बोलाएको छलफलमा पनि राजनीतिक दलका दोस्रो तहका नेताहरूले पहिलो तहका नेतासँग संवाद गर्न सुझाव दिएका थिए । तत्कालीन सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर सरकारले निर्वाचनको वातावरण बनाउन नसकिरहेको भन्दै कांग्रेस र एमालेबाट सरकारको आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनको दोषीका रूपमा यसअघि प्रधानमन्त्री कार्कीले गरेको टिप्पणीपछि आन्दोलका क्रममा आफ्नै निवासमा कुटिएका देउवा र प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारिएका ओली असन्तुष्ट छन् । आफैंले यसअघि गरेको टिप्पणीका कारण पनि कार्कीलाई ओली र देउवासँग छलफलमा बस्न गाह्रो भएको जानकारहरू बताउँछन् । जेनजी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले शीतल निवासमा मंगलबार कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरिन् । एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिइरहेका छन् भने कांग्रेस पनि अहिले ओलीसँग नजिक देखिँदा निर्धारित मितिमा चुनाव हुनेमा आशंका बढेको छ । 

ओली र देउवाले स्थानहद र सुरक्षामा उठाए प्रश्न


शीतल निवासको छलफलमा ओली सरकारविरुद्ध कडा रूपमा प्रस्तुत भए । ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको शीतल निवास स्रोतले बतायो । दलहरू निर्भयपूर्वक चुनावमा जाने, उम्मेदवारले प्रचारप्रसार गर्ने, मतदाताले बिनाडर भोट हाल्ने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने ओलीको भनाइ थियो ।

त्यस्तै, कांग्रेस सभापति देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाए । नेकपा संयोजक दाहालले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री कार्कीले विषम परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्