नेभिगेशन
राजनीति

कांग्रेससहित ६० सांसदको पूरक निवेदन

काठमाडौं – प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै विघटित प्रतिनिधिसभाका नेपाली कांग्रेसका सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ । मंगलबार कांग्रेसका ५७ र अन्य दलका ३ सहित ६० सांसदको पूरक निवेदन सर्वोच्च अदालत पुगेको हो ।

यसरी हस्ताक्षर गर्नेमा फागुन २१ को चुनाव नलड्ने घोषणा गरेका कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेता रामनाथ अधिकारी पनि छन् ।

मंगलबार हस्ताक्षर बुझाएका ६० सांसदको निवेदनमा भनिएको छ, ‘उक्त गैरसंवैधानिक कार्यबाट हामीहरूको संवैधानिक हकमा असर परेको हुँदा उक्त रिट निवेदनमा उल्लेखित व्यहोरा प्रति पूर्णरूपमा समर्थन र प्रतिबद्धता जाहेर गर्दै हामी निवेदकहरूसमेत सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ (२) बमोजिम उक्त मुद्दामा सरिक, संलग्न भई मुद्दाको पक्ष कायम गरी पाऊँ भनी निवेदनसाथ उपस्थित भएका छौं ।’

कांग्रेसका सांसदहरूले वारेस पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत निवेदन दर्ता गराएको सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । थप हस्ताक्षरसहित निवेदन आएको भन्दै उनले बुधबार पूरक निवेदनसहित पेसी चढ्ने जानकारी दिए । बुधबार बस्ने संवैधानिक इजलासमा निवेदनमाथि छलफल भई यसअघिकै रिट निवेदनमा यी निवेदकलाई पनि सामेल गराउने वा नगराउने भन्ने आदेश हुनेछ । सामेल गराउने आदेश भए यसअघि दर्ता भइसकेको कांग्रेसका ८ सांसद, एमाले सांसद र अन्य डेढ दर्जन रिटलाई एकसाथ राखेर सुनुवाइ हुनेछ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग, सभामुखसहित यी कार्यालयहरूलाई पनि विपक्षी बनाइएको छ । यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसद आशा विक, दीपक खड्का, सीताकुमारी राना, नगिना यादव, शान्ति विक र जावेदा खातुनले रिट दायर गरेका थिए । मंसिर २३ गते दायर उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार निवेदन दिएका तीन जनामध्ये जनता समाजवादी पार्टीकी हसिना खान, जनमतकी गोमा लाभ र स्वतन्त्र योगेन्द्र मण्डल पनि छन् । एमालेले गत मंसिर १० गते नै ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ ।

एमालेबाट संसद् पुनःस्थापनाको लागि तत्कालीन संसदका प्रमुख सचेतक महेश बर्तौला सक्रिय छन् । एमालेका बर्तौला र कांग्रेसका घिमिरेले पार्टीभित्र र अरू दलसहित विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पूरक निवेदनका लागि गृहकार्य गरेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसद संख्या पुगे बहुमत हुन्छ । एमालेका ७५ र कांग्रेसका ६५ सहित पुनःस्थापनाको पक्षमा उभिने निवर्तमान सांसद संख्या १ सय ४० पुगेको छ । यसमा ३ जना अझ थपिएका छन् ।

हतारमा घोषणा, सुटुक्क हस्ताक्षर

जेनजी आन्दोलनपछि हुन लागेको फागुन २१ को चुनावमा उम्मेदबार नबन्ने घोषणा गरेका कांग्रेस नेताहरू पनि प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा उभिएका छन् । जेनजी आन्दालेनबाट विस्थापित सरकारमा पर्यटनमन्त्री रहेका बाजुराका बद्री पाण्डे र कृषिमन्त्री रहेका धादिङका रामनाथ अधिकारीले पार्टीमा उम्मेदवार हुँदैनाैं भनेर घोषणा गरेका थिए, जिल्लाबाट सिफारिसमा पनि परेनन् । काठमाडौं–१० बाट तीनपटक जितेका राजन केसीले पनि अब चुनाव नलड्ने घोषणा गरे । उम्मेदवार नहुने बताएपछि चर्चा पाएका तीनै नेताले संसद् पुनःस्थापनाको मुद्दाका निवेदकमध्ये पर्न पूरक निवेदनमा भने हस्ताक्षर गर्न छुटाएका छैनन् ।

पाण्डे कांग्रेसका सहमहामन्त्री, केसी केन्द्रीय सदस्य र अधिकारी धादिङ जिल्ला सभापति हुन् । चुनाव नलड्ने घोषणा गरेका पाण्डे, अधिकारी र केसी जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि भने सर्वोच्च पुगेका छन् । 

जसले गरे हस्ताक्षर

कांग्रेसका – चन्दा चौधरी, बद्रीप्रसाद पाण्डे, प्रकाशशरण महत, पूर्णबहादुर तामाङ, जीवन परियार, चन्द्रकान्त भण्डारी, पुष्पबहादुर शाह, नारायण खड् का, मनोरमा शेरचन, मोहन आचार्य, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, बिनाकुमारी थनेत, विनोद चौधरी, ऐनबहादुर शाही, सीता गुरुङ, माया राई, सरिता प्रसाईं, डिल्लीराज पन्त, टेकबहादुर गुरुङ, विष्णुकमार कार्की, किशोरसिंह राठौर, संगीता मण्डल धानुक, कल्पना चौधरी, अजयकुमार चौरसिया, राजु थापा, वीरबहादुर बलायर, खमबहादुर गर्बुजा, देवप्रसाद तिमल्सेना, कान्तिका सेजुवाल, सुनीलकुमार शर्मा, रुपा विक, दुर्लभ थापा क्षेत्री, रमा कोइराला पौडेल, सरस्वती बजिमय, अन्जनी श्रेष्ठ, शंकर भण्डारी, मैना कार्की, रमेश रिजाल, डिगबहादुर लिम्बू, रामहरि खतिवडा, रमेश लेखक, शशांक कोइराला, नारायणप्रसाद साउद, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशमान सिंह, तेजुलाल चौधरी, दीपक गिरी, सन्तोष चालिसे, राजेन्द्र बजगाई, ईश्वरीदेवी न्यौपाने, रामनाथ अधिकारी, दिलेन्द्रप्रसाद बडू, दीनेशकुमार यादव, मञ्जु खाँण, महेन्द्रकुमार राय, अम्बिका बस्नेत,

हसिना खान –जसपा

गोमा लाभ – जनमत

योगेन्द्र मण्डल –(स्वतन्त्र)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्