नेभिगेशन
प्रदेश

अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

नवलपरासी । नवलपरासी–बर्दघाट सुस्तापूर्व, नवलपुरको दाउन्नेमा वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएको १४ वटा घरटहरा भत्काइएको छ । डिभिजन वन कार्यालय नवलपुरले राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्रको संरक्षणका लागि दाउन्ने क्षेत्रदेखि पूर्वतर्फ गरिएको अतिक्रमण हटाउने काम गरेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए ।

उनका अनुसार दाउन्ने बजारदेखि पूर्वतर्फ गरिएको नयाँ अतिक्रमण हटाइएको हो । वन क्षेत्र तथा सडक क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका १२ जना व्यक्तिद्वारा निर्माण गरिएका चौधवटा घरटहरा आज भत्काइएको हो । उक्त क्षेत्रमा घरटहरा अवैध रूपमा राष्ट्रिय वन क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने सडक क्षेत्र अतिक्रमण गरी बनाइएका थिए । अतिक्रमण हटाउने कार्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्थामा सम्पन्न गरिएको हो । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले टहरा भत्काउँदै अतिक्रमणकारीहरूलाई आफ्ना सामग्री तत्काल हटाउन निर्देशन दिएको थियो ।

डिभिजन वन कार्यालय नवलपुरका अनुसार यसअघि सब डिभिजन वन कार्यालय दुम्किबासले गत कात्तिक २४ गते नयाँ अतिक्रमित क्षेत्र खाली गराउन सम्बन्धित पक्षलाई १५ दिने सूचना जारी गरेको थियो । सूचना जारी गरेपछिसमेत अतिक्रमण नहटाइएकाले कानुनअनुसार बल प्रयोग गरेर टहरा हटाउनुपरेको डिभिजनल वन अधिकृत अधिकारीले बताए । ‘हामीले दाउन्ने क्षेत्रमा अतिक्रमण हुँदै गएपछि सूचना जारी गरी घरटहरा हटाउन भनेका थियौं, तर सूचनाको बेवास्ता गरेपछि कानुनअनुसारनै बल प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गरेका छौं,’ डिभिजनल वन अधिकृत अधिकारीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्