नेभिगेशन
विश्व

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । सोमबार टेक्सासको गाल्भेस्टन नजिक बाक्लो कुहिरोका कारण मेक्सिकन नौसेनाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त विमान एक जलन पीडित बालकलाई लगिरहेको थियो ।

फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट राडारका अनुसार विमान अन्तिम पटक स्थानीय समयअनुसार १५ः०१ मा स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिक गाल्भेस्टन खाडीमाथि देखिएको थियो ।

उक्त विमान मिचोउ माउ फाउण्डेसनले सञ्चालन गरेको एक चिकित्सकीय मिसनमा संलग्न थियो । यो संस्थाले गम्भीर रूपमा जलेका मेक्सिकन बालबालिकालाई उपचार सेवा प्रदान गर्दै आएको छ । मेक्सिकोको नौसेना सचिवालयले एक व्यक्ति अझै बेपत्ता रहेको र दुई जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।

विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्तिमार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको संख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरू बाच्न सफल भएको जनाइएको छ ।

अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ । विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ ।

फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी रेकर्ड गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्