नेभिगेशन
विश्व

निजीकरणको बाटोमा पीआईए

इस्लामावाद । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को निजीकरणका लागि तीन वटा बोलपत्र प्राप्त गरेको जनाएको छ । घाटामा परेका सरकारी स्वामित्वका संस्थाहरू निजीकरण गर्ने इस्लामावादको प्रयासका लागि यस प्रक्रियालाई महत्त्वपूर्ण परीक्षाका रूपमा लिइएको छ ।

पीआईएलाई खराब व्यवस्थापन र कमजोर सञ्चालनका कारण समस्याग्रस्त संस्था मानिँदै आएको छ । देश भुक्तानी सन्तुलनको गम्भीर संकटसँग जुधिरहेका बेला सरकारी कोष सुक्दै गएपछि एयरलाइन्सलाई निजीकरण गर्ने दबाब बढेको जनाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बोलपत्र प्रक्रिया प्रत्यक्ष टेलिभिजनमार्फत प्रसारण गरिएपछि मन्त्रिमण्डललाई सम्बोधन गर्दै यो प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले भने, ‘यो पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो लेनदेन हुन गइरहेकाले यसलाई पारदर्शी बनाउनु अनिवार्य थियो ।’ प्रधानमन्त्री सरिफले बोलपत्र सफल भएमा औपचारिक रूपमा निजीकरण प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।

तीन वटा बिडिङ कन्सोर्टियमका प्रतिनिधिहरूले पीआईएको ७५ प्रतिशत सेयर खरिदका लागि आफ्नो प्रस्ताव पेश गरेका छन् । एउटा कन्सोर्टियमको नेतृत्व निजी पाकिस्तानी एयरलाइन्स एयर ब्लुले गरेको छ भने अर्को लकी सिमेन्ट र तेस्रो लगानी कम्पनी आरिफ हबीब समूहको नेतृत्वमा रहेको छ ।

सरकारले बुधबार पीआईएको सन्दर्भ मूल्य सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि तोकिएको न्यूनतम मूल्य पूरा भएमा विजेता कन्सोर्टियमको घोषणा गरिने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्