नेभिगेशन
विश्व

श्रीलंकालाई भारतको ४५ करोड डलर सहयोग

कोलम्बो । भारतरले श्रीलंकालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले मंगलबार श्रीलंकाको भ्रमणका क्रममा उक्त सहयोगको घोषणा गरेका हुन् ।

गत महिना दक्षिण एसियाली टापु राष्ट्र श्रीलंकामा आएको चक्रवात दितवाहका कारण ६ सय ४० भन्दा बढी मानिसको ज्यान गएको थियो । आँधीसँगै आएको भीषण वर्षाले बाढी र भूस्खलन हुँदा ठूलो जनधनको क्षति भएको थियो । विश्व बैंकका अनुसार यस प्रकोपले करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब चार प्रतिशत हो ।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकले उक्त चक्रवातबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको बताउँदै यसलाई टापुको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपद् भएको बताएका थिए ।

श्रीलंकाको दुई दिने भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र राष्ट्रपति दिसानायकलाई हस्तान्तरण गर्दै ४५ करोड मिलियन डलरको पुनर्निर्माण प्याकेज उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । उनका अनुसार उक्त सहयोगमध्ये ३५ करोड डलर सहुलियतपूर्ण ‘लाइन अफ क्रेडिट’ का रूपमा उपलब्ध गराइनेछ भने बाँकी १० करोड डलर अनुदानका रूपमा प्रदान गरिनेछ ।

जयशंकरले चक्रवातपछि भारतले तत्काल रूपमा श्रीलंकालाई औषधि, अत्यावश्यक उपकरणसहित एक हजार १०० टन राहत सामग्री पठाएको कुरा पनि स्मरण गरे । ‘क्षतिको परिमाण अत्यन्त ठूलो भएकाले यातायात तथा सम्पर्क पुनःस्थापना तत्काल प्राथमिकता थियो,’ उनले भने । यसका लागि भारतीय सेनाले पोर्टेबल पुल उपलब्ध गराएर सहयोग गरेको विवरण पनि उनले प्रस्तुत गरे ।

उनले भारतले श्रीलंकामा भारतीय पर्यटन प्रवर्धन गर्ने, लगानी विस्तार गर्ने र अन्य माध्यमबाट आर्थिक क्षति न्यूनीकरणमा सहयोग गर्ने उपायहरू पनि अघि बढाइरहेको जनाए । ‘भारतबाट प्रत्यक्ष विदेशी लगानीमा भएको वृद्धिले यो कठिन समयमा श्रीलंकाको अर्थतन्त्रलाई थप ऊर्जा दिन सक्छ,’ उनले भने ।

सन् २०२२ मा भएको गम्भीर आर्थिक संकटबाट तंग्रिने क्रममा रहेको श्रीलंकालाई चक्रवातले अर्को नराम्रो धक्का दिएको थियो । यसले खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा अत्यधिक खपत भएपछि देश गहिरो संकटमा परेको थियो । सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको राहत प्याकेज स्वीकृत भएपछि अर्थतन्त्र केही हदसम्म स्थिर हुँदै आएको बताइन्छ । भारतको यो सहयोगले प्राकृतिक विपद् र आर्थिक चुनौती दुवैसँग जुधिरहेको श्रीलंकालाई पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढ्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्