रौतहट । हत्या अभियुक्त दाजु र ससुरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । गुजरा–७ पल्टुवाका आश महमद र वृन्दावन–९ भुसहा टोलका ७५ वर्षीय महमद अलीलाई अदालतको आदेशपछि प्रहरीले बुधबार कारागार पठाएको हो ।
उनीहरू १८ वर्षीया तहरीमा खातुनको हत्या आरोपमा गत मंसिर १० मा पक्राउ परेका थिए । भुसहा टोलस्थित घरमा तहरीमाको शव मंसिर ९ मा फेला परेको थियो । खपडाको घरको एउटा कोठाभित्र खाल्डो खनिएको थियो, जसमा बोरामा हालेको शव पुरिएको अवस्थामा थियो ।
तहरीमाको हत्या भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । भोलिपल्टै ससुरा र दाजुलाई पक्राउ गर्दा घटना विवरण खुलेको थियो । हत्यामा आफूहरूको संलग्नता रहेको बयान दिएका दुवैलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए ।
मृतक तहरीमा महमद अलीकी बुहारी थिइन् भने आश महमद ज्वाइँ थिए । घटनाको रात दुवै घरमा थिए । अलीका १० भाइ छोराहरूमध्ये सातौं छोरा शेख आदिलकी पत्नी अर्थात् बुहारी थिइन्, तहरीमा । अलीकी छोरी अर्थात् आश महमदले आफ्नी बैनीकी नन्द विवाह गरेका थिए ।
परिवार मिलेर तहरीमाको हत्या गरेका थिए । हत्यापछि शव कोठामै खाल्डो खनेर गाडेपछि घरका सबै भागेका थिए । आदिल–तहरीमाको डेढ वर्षको एउटा छोरा छ । आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।
अली र आश महमदको बयानअनुसार घटनाको कारण तहरीमाको विवाहेतर सम्बन्ध रहेको खुलेको छ । प्रहरीका अनुसार अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग तहरीमाको सम्बन्ध थियो ।
गत कात्तिक १९ मा सँगै भेटिएका दुवैलाई गाउँलेले फेला पारेर चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।
त्यो बेला अलीले ‘मेरो छोराले अब बुहारीलाई राख्दैन, यही भतिजोसँग विवाह गराइदिन्छु’ भनेर दुवै जनालाई घर ल्याएका थिए । एक सन्तानकी आमा खातुनलाई आदिलको घर नबिगार्न पटक–पटक माइती पक्षले पनि सम्झाएका थिए । उनले नमानेपछि योजनाबद्ध तरिकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बस्यालले बताए । मृतकका दाजु शेख आश महमद करिब १५ दिनदेखि ससुरालीमै बस्दै आएका थिए । उनकै योजनामा मंसिर ८ को राति घरका सबै मिलेर हत्या गरेको प्रहरीको भनाइ छ ।
हत्या भएको घरमा अली दम्पती, तहरीमा, उनको नाबालक छोरा, दुईजना देउरानी–जेठानी, नाबालक देवरहरू थिए । घटनापछि सबै भागेको परिवारका ज्वाइँ–ससुरा पक्राउ परे पनि अरूलाई प्रहरीले फेला पारेको छैन । तहरीमा–आदिलको नाबालक छोरा पनि भेटिएका छैनन् । फरार रहेका परिवारका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।