काठमाडौं । जेनजी आन्दोलनपछि निष्क्रिय जस्तै रहेका शेरबहादुर देउवाले विस्तारै राजनीतिक सक्रियता बढाएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दोस्रोपटक महाराजागञ्जस्थित निवासमा आएर भेटे । मंगलबार राष्ट्रपतिले आह्वान गरेको बैठकमा उनी ओली र प्रचण्डसँगै सहभागी हुन शीतल निवास पुगे ।
फागुन २१ को निर्वाचनका लागि पार्टीबाट उम्मेदवार सिफारिस हुने क्रममा एकपटक पुनः उठ्ने आफ्नो आकांक्षा उनले व्यक्त गरिसकेका छन् । त्यही भएर डडेलधुराबाट उम्मेदवारीका लागि उनको एकल नाम सिफारिस भइसकेको छ ।
देउवा एकातिर पार्टी, निर्वाचन र अर्कातिर एमालेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा आफ्ना ‘खास’ नेताहरूलाई बल दिइरहेका छन् । पार्टीले निर्वाचनमा जाने निर्णय केन्द्रीय कार्य समिति बैठकबाट गरेको थियो । तर, बैठकमा सल्लाह नै नगरी केही नेता एमालेको पदचाप पछ्याएर विघटित प्रतिनिधिसभा ब्यूँताउने मागको रिट लिइ सर्वोच्च अदालत पुगे । त्यसअघि देउवा र ओलीको भेट भएको थियो । देउवाको ‘ग्रिन सिग्नल’पछि कांग्रेसका ५७ सांसदले मंगलबार सर्वोच्चमा रिटको पूरक निवेदन दायर गरेका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसद सर्वोच्च गएकोमा मंगलबार थप ५७ जनाले पूरक निवेदन दर्ता गराएका छन् ।
भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा आक्रमणमा परेका देउवाले पार्टीका गतिविधि अगाडि बढाउन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाएका थिए । गत असोज २८ गते देउवाले ‘जसरी घरमा सधैं एकैजना मुली रहँदैन, त्यसरी नै पार्टीमा हमेसा एकै जना सभापति रहँदैन,’ भन्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । यसरी जिम्मेवारी दिँदा नेता कार्यकर्ताले देउवा पार्टीमा पुनः सक्रिय नहुने रुपमाअर्थ्याएकाथिए । खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि उनकै सभापतित्वमा पार्टीका बैठकहरू बसिरहेको छ । देउवा पार्टी केन्द्रीय कार्यालय सानेपा गएका छैनन् । पार्टी बैठकमा समेत उपस्थित हुने गरेका छैनन् ।
बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठकमा पनि देउवा सहभागी भएनन्, खड् काकै सभापतित्वमा बैठक भयो । दृश्यमा खड्का अग्रणी देखिए विभिन्न विषयमा निर्णयक मत दिन नसक्नुले पार्टीभित्र देउवा नै सक्रिय र शक्तिशाली छन् । महामन्त्री गगन थापाले बुधबार कार्यसम्पादन समितिको बैठकपछि सभापति देउवाको भूमिकाप्रति असन्तुष्टि जनाए । पार्टीमा कार्यवाहक दिने, बैठकहरूमा नआउने तर शक्तिको सबै अभ्यास कायमै राखिरहेको भन्दै उनले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा थापाले भने, ‘पार्टी सभापतिजीले कार्यवाहक दिनुभएको छ तर नाम मात्रको कार्यवाहक । सभापतिजी बैठकमा आउनुभएको छैन तर बाँकी सबै शक्ति अभ्यास त्यहीँबाट भइरहेको छ ।’ सभापति देउवालाई पार्टीको सर्वोत्तम हित हेर्न र तोकिएको समयमा महाधिवेशन गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । ‘सभापतिज्यूले केन्द्रीय समितिमा उपस्थित भएर कार्यवाहक दिनुभएको थियो । देशभरका नेता कार्यकर्ताले अब सभापतिजी अभिभावकीय भूमिकामा रहनु हुन्न भन्ने आशा गरेका थिए तर त्यस्तो भएन,’ उनले भने, ‘शक्तिको अभ्यास उहाँले गर्दै आउनुभएको छ ।’
कांग्रेसको गत मंसिर १५ मा बसेको केन्द्रीय समिति बैठकले पुस १६ देखि वडा अधिवेशन सुरू गरी ६ तहको अधिवेशन गरेर पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो । तर क्रियाशील सदस्यता अझै टुंगो लागेको छैन ।

महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगो लगाउनुपर्ने जिम्मेवारी वडा, क्षेत्र र जिल्लाकै बढी भएको र आफू संयोजक रहेको क्रियाशील व्यवस्थापन समितिले समन्वय मात्रै गरिदिने भएकाले महामन्त्रीहरूलाई दोष दिन नमिल्ने पनि बताए । नेता शेखर कोइरालाले मंगलबार पार्टीको महाधिवेशन क्रियाशील सदस्यता वितरणका कारण धकेलिन सक्ने र त्यसको जिम्मेवार महामन्त्री थापा रहेको संकेत गरेका थिए । करिब ५ लाख क्रियाशील सदस्यता फाराम क्रमसंख्याविना नै जिल्लामा पुगेको थियो । पछि नेता कोइरालाले सभापति देउवालाई भेटेर त्यस्तो क्रियाशील वितरण नगर्न दबाब दिएपछि फाराम पुनः पठाउने निर्णय भएको थियो ।
तीन तहको अधिवेशन प्रस्ताव
कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको १५औं महाधिवेशनमा केन्द्रीत भयो । बैठकमा महामन्त्री थापाले करिब ५३ जिल्लाको क्रियाशील सदस्यता नवीकरण सिस्टममा इन्ट्री भइसकेको जानकारी गराए । उनले तोकिएको कार्यतालिका अनुसार अधिवेशन नहुने देखिएको भन्दै फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि तीन तहको मात्र अधिवेशन गर्न प्रस्ताव गरे । महामन्त्री थापा जसरी पनि चुनाव अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
पुस १६ का लागि भनिएको वडा अधिवेशन केही दिन साररे गर्ने, प्रतिनिधि सभा क्षेत्रीय महाधिवेशन गर्ने र केन्द्रीय महाधिवेशन गर्ने गरी उनले प्रस्ताव गरे । पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने पनि बताएका छन् । थापाले अधिवेशन गरेर नयाँ नेतृत्व नल्याई कांग्रेस महाधिवेशनमा जान नहुने धारणा राखेका छन् ।
क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने पनि उनको प्रस्ताव छ । उनले पार्टीको १५औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बदनियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए ।
कार्यसम्पादन समितिमा बुधबार महामन्त्री थापा, सहमहामन्त्रीहरू महेन्द्र यादव र बद्री पाण्डे, केन्द्रीय सदस्य विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, ज्ञानेन्द्र कार्की, उमा रेग्मी, सुजाता कोइराला, एनपी साउद र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।
बैठकमा महामन्त्री थापाले तीन तहको अधिवेशन गररे निर्वाचनमा जाने प्रस्ताव राखेका बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले भने, ‘महामन्त्रीज्यूले महाधिवेशनको कार्यतालिका सम्बन्धमा कुरा उठाउनुभएको थियो । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गररे केन्द्रमा महाधिवेशन गरी निर्वाचनमा जाने प्रस्ताव उहाँले बैठकमा राख्नुभयो ।’
कार्यसम्पादन समितिको बैठक बिहीबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । त्यस्तै कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता महतले बताए । यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने उनले जानकारी दिए ।