रुपन्देही – बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने उपचार सेवा बापतको रकम नपाए विपन्न नागरिक औषधि उपचार कार्यक्रम बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ । सरकारले भुक्तानी नदिएकै कारण अस्पताललाई आर्थिक संकट परेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालले सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रमको रकम नपाउँदा औषधि र उपकरण खरिद रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या परेको जनाएको छ । पैसा नै नभएपछि निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको पनि अस्पतालले प्रष्ट पारेको छ । पुस मसान्तसम्म पाउनुपर्ने सबै रकम प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको एक लाखसम्मको सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गरिने जनाएको छ ।
२०७० सालदेखि सामुदायिकस्तरबाट सञ्चालनमा आएको अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचार गरेबापत सर े कारबाट १७ करोड ८१ लाख नौ हजार ३७९ रुपैयाँ भुक्तानी पाउन बाँकी छ । अस्पतालले मुटु तथा मिर्गौलाका बिरामीको उपचारबापत सरकारले दिनुपर्ने २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँमध्ये २ करोड ५८ लाख २२ हजार ५०० मात्र दिएको जनाएको छ । थप भुक्तानीका लागि सरकारले चासो नदिएकाले सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा एक लाख रुपैयाँ र मिर्गौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको छ । सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै यो अस्पतालबाट एक हजार ३८४ जना मुटुका बिरामीले चार करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा लिएका छन् । त्यसैगरी, मिर्गौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन २ हजार ५०० प्राप्त हुँदै आएकामा यस वर्ष १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मिर्गौलाका बिरामीको गरी चालु वर्षमा मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार प्रदान गरेको अस्पतालले जनाएको छ । विसं २०७२ देखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीले हालसम्म तीन लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेको अस्पतालको तथ्यांक छ ।
मिर्गौलाका बिरामीहरूको चाप अत्यधिक बढ्दै जान थालेपछि सेवा विस्तार गर्दै अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तुको वाणगंगामा डायलाइसिस सेन्टर स्थापना गरी सेवा प्रदान गर्दै आएको भने केही समयमै नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । रूपन्देही उद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्याक्ट क्लबहरू, समाजसेवीलगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ । स्थापनाको १२ वर्षसम्म अस्पतालबाट मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी पाँच लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल ३३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।