नेभिगेशन
अर्थतन्त्र

‘लगानी वृद्धि गराउन सरकार प्रयासरत छ’

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् । बुधबार मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गरेको १० दिने ‘विराट ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै खनालले निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि नआउने बताए ।

करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा प्रणाली स्थापना गर्ने कार्यका लागि मोरङको केराबारीमा कार्यालय स्थापना भएको जानकारी समेत दिए । अर्थमन्त्री खनालले आयातमा देखिएका समस्या निराकरण गर्न सरकार तत्पर रहेको बताउँदै व्यवसायीलाई विश्वास गर्न सके मात्रै राजस्व बढ्ने बताए । जेनजी आन्दोलनका क्रममा मुलुकमा ८४ अर्ब रुपैयाँको नोक्सानी भएकाले पुनः त्यस्तो घटना दोहोरिन नदिन नागरिक सचेत हुनुपर्ने पनि बताए । मन्त्री खनालले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने र यसमा शंका नगर्न आग्रह पनि गरे ।

कार्यक्रममा कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्त्व रहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यशीलताको विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र