नेभिगेशन
राजनीति

बालेन वैकल्पिक शक्तिकेन्द्र!

एकै दिन १२ घण्टा राजनीतिक भेटघाट

काठमाडौं । नेपाली राजनीतिका ‘रहस्यमय पात्र’ हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह । उनी बिहीबार दिनभर चर्चाको केन्द्रमा रहे । नदेखिने र नभेटिने भनिएका उनी देखिए र भेटिए पनि । फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै उनले बिहान ८ देखि बेलुकी ८ बजेसम्म सक्रिय राजनीतिक भेटघाट गरेका छन् । सामाजिक सञ्जालमा मात्र देखिने बालेनले अब राजनीतिको मैदानमा आएको सक्रियताले देखाएको छ । उनले वैकल्पिक राजनीतिक शक्तिलाई जोडेर आफू त्यसको केन्द्रमा रहने संकेत गरेका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने दबाब आउँदा मौन रहेका उनले केही दिन राजनीतिक सक्रियतामार्फत आफू राजनीतिमा आएको जानकारी दिएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र जेनजीहरूलाई समेट्ने प्रयासमा छन् । उनले पछिल्ला भेटमा भनेका छन्, ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, डा.भगवान कोइराला, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई, जेनजी अगुवा रक्षा बम, सुधन गुरुङ, हाम्रो पार्टी नेपालका खगेन्द्र सुनार, सातै प्रदेशका जेनजीप्रतिनिधि, कांग्रेस नेता चन्द्र भण्डारी, सुनिल शर्मा, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्वस्वतन्त्र सांसद अमरेश सिंह लगायतसँग भेटवार्ता गरे । ज्वागलस्थित आफ्‌ना सहयोगी कुमार बेनको घरमा उनले लगातार करिब १२ घण्टा राजनीतिक भेटघाट गरेका हुन् । ‘म त एउटा निर्वाचन क्षेत्रमा चुनाव उठूँला, तर म मात्र उठेँ भने केही परिवर्तन ल्याउन सकिँदैन । मलाई बाँकी १६४ सिटमा चुनाव उठ्ने मान्छे चाहिएको छ,’ बालेनले भेटका क्रममा भनेका छन्, ‘समानुपातिक सिटका लागि पनि थप मान्छे चाहिएको छ । यसका लागि मलाई यो अभियानमा जोडिन सक्ने वा जोडिन चाहने सबैको साथ र सहयोग चाहिएको छ ।’ बालेन निकटका अनुसार उनी मधेसको कुनै क्षेत्रबाट चुनाव लड्ने सोचमा छन् ।

जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा हुन लागेको निर्वाचनको अगाडि बालेनले देखाएको राजनीतिक सक्रियतालाई चासोका साथ हेरिएको छ । दलहरूले समानुपातिकको बन्दसूची यही पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्ने छ । त्यसअघि नै उनी रास्वपा, उज्यालो नेपालसहितका नयाँ पार्टीहरूसँगको छलफल निष्कर्षमा पुर्‍याउन चाहेका छन् । यदि सहमति नभएमा भने बालेनले निर्वाचन आयोगमा दर्ता रहेको देश विकास पार्टीबाट शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर आयोगमा सूची बुझाउने तयारी पनि सँगै अघि बढाएको उनको सचिवालयका एक सदस्यले बताए ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरको छ । जेनजी आन्दोलनको भावना समेटेर अघि बढ्ने भन्दै खुलेका दलको संख्या २७ छ ।

मिलेर जान सहमत, एकताको मोडल के ?

बालेनको प्रस्तावमा सँगै अघि बढ्न रास्वपा र उज्यालो नेपाल पार्टी सकारात्मक देखिएका छन् । उनीहरूबीच अझै कतिपय विषयमा एकमत भने हुन सकेको छैन । एउटै पार्टी बनाउने, चुनावी सहकार्य गर्ने र बालेनको भूमिका के हुने ? लगायतका विषयमा छलफल केन्द्रीत रह्यो । लामिछानेको रास्वपा चुनावी अभियानमा जुटिसकेको छ भने उज्यालो नेपाल पार्टी खोलेर कुलमान घिसिङ पनि औपचारिक राजनीतिमा प्रवेश गरेका छन् । यही बेला बालेन पनि राजनीतिमा सक्रिय भएका छन् ।

घिसिङ र बालेन एक भएर अघि बढ्ने विषयमा सहमति नजिक पुगिसकेका छन् । घिसिङको उज्यालो नेपाल जस्तै बालेन समर्थित देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ । उज्यालो नेपाल पार्टीमा अनुप उपाध्यायजस्तै देश विकास पार्टीमा सन्ध्या खनाल अध्यक्ष छिन् । देश विकास पार्टीको चुनाव चिन्ह बालेन काठमाडौं महानगरपालिकाको चुनाव लड् दाको ‘लौरो’ चुनाव चिन्ह छ ।

उज्यालो नेपाल पार्टी निष्क्रिय बनाएर घिसिङसहितको टिम देश विकास पार्टीमा सामेल हुने वा दुई पार्टी एकता गर्ने ? विकल्पमा छलफल जारी छ । देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ । यसका अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न ‘लौरो’ छ । लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका हुन् । जेनजी विद्रोहपछि अन्तरिम सरकारमा मन्त्री बनेका घिसिङ पनि नयाँ पार्टी मिलेर जानुपर्ने पक्षमा छन् ।

‘जेनजी आन्दोलनपछि फेरि पनि पुरानै स्थितिमा देश फर्क्यो भने त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन । अब आगामी दिन यो देशलाई माथि लैजान, समृद्धतर्फ अगाडि बढाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,’ बालेनलाई भेटेपछि त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटनका क्रममा उनले भने ।

त्यस्तै, रास्वपाले भने बालेनलाई फागुन २१ को चुनावमा प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गर्दै एकताका लागि आग्रह गरेको छ । सोमबार कमलपोखरीमा बालेनसँग भेट गरेका रास्वपा सभापति लामिछानेले बिहिबार ज्वागल पुगेर पुनः बालेनसँग भेटे । उक्त भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको छ ।

यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । लामिछानेले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा केही तलमाथि गरेर समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेको बालेन निकट स्रोतको दाबी छ । तर, लामिछानेको प्रस्तावमा बालेन ढुक्क देखिएका छैनन् ।

रास्वपामा जाँदा विलय भएको सन्देश जाने भन्दै बालेन एकतामा आफ्‌नो अलग अस्तित्वको खोजीमा देखिएका छन् । उनले रास्वपासँग सहकार्य गर्दा पावर सेयरिङ र टिम सन्तुलन खोजेको उनी निकट बताउँछन् ।

प्रधानमन्त्रीका रुपमा आफूलाई ‘पोस्टर ब्वाई’ मात्र बनाउन खोजिएको हो की भन्ने आशंका बालेनको रहेको उनी निकट स्रोतले बताएको छ । चुनाव जित्दा वा नजित्दा के गर्ने भन्नेबारे बालेनले प्याकेजमा संवाद गर्नुपर्नेमा बालेन रहेको उनको सचिवालय बताउँछ । सकेसम्म नयाँ पार्टीहरूलाई मिलाउने र नभए देश विकास पार्टीलाई मिल्न सक्नेहरूलाई मिलाएर आफ्‌नै नेतृत्वमा अघि बढ्ने निष्कर्षमा बालेन देखिएका छन् । उनीहरूबीच संवादलाई जारी राख्ने सहमति छ ।

युट्युबर र कन्टेन्ट क्रिएटरको भीड

बालेन, रवि र कुलमान घिसिङ सामाजिक सञ्जालका कन्टेन्ट क्रियटर र यूटुबरले धेरै पछ्याउने पात्र हुन् । बिहीबार तीनै जना भेट हुने भएपछि उनीहरूको चासो बढ्नु स्वाभाविक थियो ।

बिहानदेखि बेलुकी ८ बजे बालेन नबाहिरिँदासम्म उनले गरेका भेटघाटहरू दिनभर चर्चामा रहे । बालेनले राजनीतिक भेटघाटस्थल बनाएको सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित निवासमा बिहानैदेखि युटुबर र कन्टेन्ट क्रिएटरको भीड थियो । बालेन भेट्न पुगेकाहरूलाई युट्युबरको क्यामरा र प्रश्नभन्दा पनि भिड छिचोल्न सकस परेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्