नेभिगेशन
राजनीति

लेखक आयोगमा बयान दिन जाने

काठमाडौं – कांग्रेस नेता रमेश लेखक बयान दिन जाने भएका छन् । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले पत्राचार गरेर बोलाएपछि उनले बयान दिन आउने बताएका हुन् ।

जेनजी प्रदर्शनका बेला लेखक तत्कालीन सरकारका गृहमन्त्री थिए । बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू बयान दिन जाने बताएका हुन् । आयोगले बुधबार लेखकलाई बयानका लागि बोलाउने निर्णय गर्दै पत्राचार गरिएको जनाएको थियो ।

‘मलाई जाँचबुझ आयोगले बोलाएको छ । आगामी सोमबार आयोगमा जान्छु। पछि सञ्चारमाध्यमबाट पनि आफ्ना धारणा सार्वजनिक गर्नेछु,’ उनले भने । गौरीबहादुर कार्की नेतृत्वको आयोगले शुक्रबारका लागि बोलाएको भए पनि लेखकले सोमबार आउने जानकारी समितिलाई गराएको बताए । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । भदौ २३ गतेको प्रदर्शनमा दमन र धरपकड भएको थियो, जसमा गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

घटनाको विरोधमा भोलिपल्ट प्रदर्शनकारी उग्र भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकको निकै आलोचना भएको थियो । भदौ २३ को घटनामा गृहप्रशासनबाट भएको बल प्रयोगलाई लिएर आलोचना भएपछि भोलिपल्ट उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्