काठमाडौं – कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको बैठकले तत्काल राष्ट्रिय सभा बैठक बोलाउन माग गरेको छ । जेनजी आन्दोलनपछि बिहीबार पहिलोपटक बसेको संसदीय दलले राष्ट्रिय सभा बैठक बोलाउन माग गरेको हो ।
त्यस्तै, बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक पनि भनेको छ । ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकाले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ,’ बैठकको निर्णय छ । गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो । कांग्रेसका विघटित प्रतिनिधिसभाका ६५ सांसद प्रतिनिधिसभा पुनस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।
जेनजी आन्दोलनपछि भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य भएको थियो । त्यसयता सरकारले नयाँ अधिवेशन आह्वान गरेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । अधिवेशन आह्वान नभएकोमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि असन्तुष्टि व्यक्त गरिररहेका बेला कांग्रेसले पनि बैठकको माग गरेको हो ।
६ लाख ६६ हजार क्रियाशील नवीकरण
कांग्रेसका ६ लाख ६६ हजार जनाले आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेका छन् । क्रियाशील सदस्यता वितरण समितिका अनुसार बिहीबार बेलुकासम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण भइसकेको छ । कांग्रेसमा ८ लाख ८९ हजार क्रियाशील सदस्य छन् ।
त्यस्तै जनसम्पर्क समितिअन्तर्गत ओमान, यूएई, साउदी अरबको क्रियाशील पनि टुंग्याइएको समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए । सदस्यतामा विवाद भएका सुर्खेत, काठमाडौं–६ र पर्सामा नवीकरण फाराम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको पनि उनले बताए । ‘करिब ७५ प्रतिशत नवीकरण भइसकेको छ । केही जिल्लामा राजनीतिक रुपमा समाधान खोज्नुपर्नेछ,’ उनले भने । त्यस्तै, नयाँ सदस्यता वितरण सबै निर्वाचन क्षेत्रमा भइरहेको भन्दै शनिबारसम्ममा त्यसको विवरण पनि साजर्वजनिक गर्ने समितिको तयारी छ ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण तथा यसमाथि उजुरी परेर हुने छानबिन नसकिएकाले मातहत तहका अधिवेशन कार्यतालिका हेरफेर गर्नेबारे छलफल चले पनि कुनै निष्कर्षमा कांग्रेस पुगेको छैन । कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । वडा अधिवेशन पुस १६ गते देशैभर हुने कार्यतालिका छ ।