नेभिगेशन
राजनीति

कुलमानको पार्टी कार्यालय त्रिपुरेश्वरमा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको दल उज्यालो नेपालले त्रिपुरेश्वरमा पार्टीको केन्द्रीय कार्यालय खोलेको छ । सरकारमै रहेर पार्टीका गतिविधिमा सामेल भइरहेका घिसिङको प्रमुख आतिथ्यमा बिहीबार कार्यालय उद्घाटन गरिएको हो । आफ्‌नो पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनेका उनले समृद्धि, सुशासन र न्यायको मार्गमा अघि बढाउन नयाँ पुस्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

वर्तमान राजनीतिक अवस्था परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै युवा र नयाँ राजनीतिक शक्तिहरूबीचको एकताले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताए । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई सकारात्मक दिशामा अगाडि बढाउन आवश्यक रहेको धारणा उनले व्यक्त गरे । ‘जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थितिले देशमा परिवर्तनको चाहना प्रष्ट देखिएको छ । यसलाई सुशासन र समृद्धिको दिशामा लैजान युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने ।

वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउन पूर्ण रूपमा कटिबद्ध रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा पनि नयाँ राजनीतिक शक्तिहरूको उदयको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायले पार्टी देशलाई समृद्धिको बाटोमा डोर्‍याउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्