नेभिगेशन
विश्व

अवामी लिग चुनावबाहिर

ढाका – बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट पारेका छन्। उनका अनुसार पार्टीमाथि लगाइएको राजनीतिक गतिविधि प्रतिबन्ध र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएकाले अवामी लिगको चुनावी सहभागिता सम्भव छैन । बुधबार राजधानी ढाकास्थित फरेनसर्भिस एकेडेमीमा अन्तरिम सरकारको सल्लाहकार परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आलमले सरकारको निर्णयबारे जानकारी दिए । यस क्रममा अवामी लिगमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पाँच अमेरिकी सांसदले मुख्य सल्लाहकारलाई पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफमा उनले आफूले उक्त पत्र नदेखेको तर सरकारको अडान स्पष्ट रहेकोमा जोड दिए । ‘अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको छ र निर्वाचन आयोगले पार्टीको दर्ता रद्द गरिसकेको छ । त्यसैले अवामी लिगले आगामी निर्वाचनमा भाग लिन सक्ने छैन,’ उनले भने ।

यस वर्ष मे महिनामा अन्तरिम सरकारले बंगलादेश अवामी लिग र यसका सम्बद्ध तथा भ्रातृ संगठनहरूको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र अधिसूचना जारी गरेकोथियो । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा टुंगो नलागेसम्म प्रतिबन्ध कायम रहने उक्त निर्णय गृह मन्त्रालयअन्तर्गत सार्वजनिक सुरक्षा विभागले आतंकवाद विरोधी (संशोधन) अध्यादेशअनुसार लिएको हो ।

गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बंगलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगबिनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’ भनी टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘अवामी लिगबिनाको चुनाव चुनाव होइन । जनताको मतबिना शासन गरिरहेका युनुसले लोकप्रिय जनादेशबाट पटक–पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउन खोजिरहेका छन् ।’ उनका अनुसार अवामी लिगमाथिको प्रतिबन्ध कायम रहे लाखौं मतदाता प्रभावकारीरूपमा मताधिकारबाट वञ्चित हुनेछन् र त्यस्तो प्रक्रियाबाट बन्ने कुनै पनि सरकार नैतिक वैधताविहीन हुनेछ । राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बंगलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्