नेभिगेशन
अर्थतन्त्र

नाइमाद्वारा यातायात र ट्राफिकलाई सहयोग

काठमाडौं – सवारीसाधन बिक्रेताको संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याक्चर्स एशोसिएसन (नाइमा)ले यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आपतकालीन सहयोग हस्तान्तरण गरेको छ । गत भदौ २४ को जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका निकायलाई सघाएको हो ।

नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालले बिहीबार सहयोग सामग्री हस्तान्तरण गरे । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नाइमाको सहयोग महत्वपूर्ण रहेको भन्दै विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएकोमा आभार व्यक्त गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाको सहयोगका लागि प्रशंसा गर्दै ट्राफिक शिक्षा र व्यवस्थापनमा भरपर्दो सहयात्री भएको बताए ।

नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सहयोग गर्न पाएकामा गर्व व्यक्त गर्दै, सार्वजनिक सेवा प्रवाहमा सहकार्य गर्नु संस्थाको कार्यगत अवधारणा रहेको र आगामी दिनमा यस सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् । कार्यकारी निर्देशक दुलालले झ्याल, ढोका पुनर्निर्माणदेखि फर्निचर, कम्प्युटर र प्रिन्टरजस्ता आवश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र