नेभिगेशन
अर्थतन्त्र

नेपाल टेलिकमको घट्यो लाभांश

काठमाडौं – नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले शेयरधनीले पाउने लाभांश अघिल्लो आर्थिक वर्षका तुलनामा घटेको छ । कम्पनीले यसपटक प्रति कित्ता ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्तावसँगै १८औं वार्षिक साधारण सभा पुस ३० गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना भएको छ । केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ । कम्पनी ऐनअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै कम्पनीले शेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० देखि ३० गतेसम्म शेयर दाखिला–खारेज (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । पुस १९ सम्म कायम शेयरधनीहरू मात्रै सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभामा सहभागी हुन चाहने शेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्र तथा परिचय खुल्ने कागजात अनिवार्यरूपमा साथमा ल्याउन कम्पनीले आग्रह गरेको छ । अघिल्लो आव कम्पनीले प्रतिकित्ता ४० रुपैयाँ लाभांश दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र