काठमाडौं – निर्वाचनको संशय बोकिरहेका देशका प्रमुख तीन पार्टीहरुलाई आश्वस्त पार्न सञ्चारमन्त्री जगदीश खरेल शुक्रबार दिनभरिजसो भेटघाटमा व्यस्त रहे । केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई अगाडि राखेर प्रमुख पार्टीका नेताहरुसँग छलफल गरेपछि खरेलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता व्यक्त गर्न राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तरता दिएको सञ्चारमन्त्री जगदीश खरेलले न्यूज२४सँगको कुराकानीमा बताए ।
पार्टीको मूल संशय चाहिँ के रहेछ भन्ने प्रश्नमा उनले भने, ‘धेरैजसो चाहिँ शान्तिसुरक्षाको अवस्था खस्केकोमा चिन्ता गरेको पाएँ । हामीले उहाँहरुलाई आश्वस्त पारेका छौँ ।’
चुनावका बेलामा प्रचारप्रसार गर्न गाउँगाउँमा नेताहरु पुगेका बेला उनीहरुमाथि आक्रमण हुने डर प्रमुख रुपमा रहेको उनले देखे । चुनाव घोषणा हुने तर प्रचार गर्न नपाउने अवस्थामा स्वतन्त्र रुपमा कसरी चुनाव हुन्छ भन्ने मुख्य प्रश्न प्रमुख नेताहरुको रहेको उनले बताए ।
सञ्चारमन्त्री खरेलले उम्मेद्वारहरुको सुरक्षा व्यवस्था जिम्मा सरकारले लिने भएकाले त्यसलाई विशेष ध्यान दिइने बताएका छन् । निर्वाचन सफल बनाउने जिम्मा पार्टीहरुको पनि भएकाले प्रमुख नेताहरु यसमा सहमत भएको बताए ।
.jpg)
उनले एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए ।
एमाले अध्यक्ष केपी ओलीले खासगरी चुनावको विरोध नगरेको सो अवसरमा बताएका थिए । प्रचण्डसँग भेटपछि नेपाली कम्युनिस्ट पार्टी निर्वाचनको विकल्पमा नरहेको बुझेको मन्त्री खरेलले बताए ।
सञ्चारमन्त्री खरेलले सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाटपछि पार्टीहरुको संशय मेट्ने काम गरेको बताउँदै दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको जनाए । सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका खरेलले बताए ।
सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाउने पनि बताए ।
उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव हुने कुरामा शंका नगर्न आग्रह गरे । उनले भने, ‘प्रमुख तीन दलका शीर्ष नेताहरुले आफूसँगको भेटमा आफूहरु चुनाव विरोधी होइनौँ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो । ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको विकल्प नरहेको र प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको मुद्दा नरहेको सञ्चारमन्त्री खरेललाई बताएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गरेको मन्त्री खरेललेको भनाइ थियो । दलहरुबाट व्यक्त भावनाअनुरुप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता ओलीलाई सञ्चारमन्त्री खरेलले जनाएका थिए । उनले भने, ‘शीर्ष नेताहरुसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन् ।’
सञ्चारमन्त्री खरेलले भने, ‘धेरैले जेनजीको भ्रष्टाचारविरोधी आन्दोलन चुनावको माहोलले छेकिएको महसूस गरेका छन् । तर यसबीचमा हामीले ४० वटा ठूला भ्रष्टाचारका मुद्दाहरु चलाइएका छन् र सुशासनका मानकहरु बनाइरहेका छौँ । त्यसैले सरकार आफ्नो कामबाट कसैगरी विमुख भएको छैन ।’