जगन्नाथ दुलाल
काठमाडौं, पुस १२
कुनै पनि विद्रोहबाट विस्थापित शासक केही महिनामै पुरानै ठाँटसहित फर्किएको दृश्य विरलै देख्न पाइन्छ । जेनजी आन्दोलनका क्रममा विस्थापित भएका धेरै देशका शासकहरु अझै भागाभागकै अवस्थामा छन् । नजिकको बंगलादेशमै पनि तत्कालीन प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिइरहेकी छन् । देश छाडेका मेडागास्करका पूर्वराष्ट्रपति एन्ड्री राजोएलिनाको नागरिकता रद्द गरिएको छ । उनी कहाँ लुकेर बसेका छन् भन्ने अत्तोपत्तो छैन ।
तर, नेपालको दृश्य पनि फरक छ । जेनजी आन्दोलनपछि सेनाको हेलिकप्टरमा ‘भागेका’ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य सत्तासाझेदार दलका अध्यक्ष प्रधानमन्त्रीकै निमन्त्रणामा बालुवाटार पुगे । सञ्चारमन्त्री जगदीश खरेलले उनीहरुलाई प्रधानमन्त्री निवासमा स्वागत गरे । प्रधानमन्त्री सुशीला कार्कीसँग ओली र देउवाको हार्दिक संवाद भयो ।
सत्ताबाट अप्रत्याशित विस्थापनपछि ओली शनिबार पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटार पुगे । गत भदौ २४ मा जेनजी आन्दोलनले ध्वंसात्मक रुप लिएका बेला राजीनामा दिएर सेनाको हेलिकप्टरमा बालुवाटारबाट बाहिरिएका उनी यसपटक आफ्नै गाडीमा प्रधानमन्त्री निवास पुगे । पूर्वप्रधानमन्त्री ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भयो ।
उसो त, शनिबार बालुवाटारमा बैठकको वातावरण राष्ट्रपति रामचन्द्र पौडेलले बनाइदिएका हुन् । प्रधानमन्त्री कार्कीले संवाद गर्न नचाहेका ओली, देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति पौडेलले गत मंगलबार प्रधानमन्त्री कार्कीसहित शीतल निवासमा संवाद गराए । सोही बैठकमा चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी बनेपछि शनिबारको भेटघाट जुरेको हो ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि ओली, देउवा र दाहालको मुख हेर्न नचाहेको भन्दै दिएको अभिव्यक्ति र ओली र रमेश लेखकमाथिको स्थानहदका कारण ओली र देउवा सरकारसँग रुष्ट थिए । ओलीले त पटक पटक प्रधानमन्त्री कार्कीको संवैधानिक हैसियतमा प्रश्न उठाउँदै कडा आलोचना गरेका थिए । कांग्रेस र एमालेका सांसदहरुले त वर्तमान सरकार असंवैधानिक भन्दै सरकारमाथि संवैधानिक प्रश्न उठाएका थिए ।
प्रधानमन्त्री कार्कीसँगको तिक्त सम्बन्धका कारण फागुन २१ को चुनावको वातावरण बन्न सकेको थिएन । त्यही बीचमा राष्ट्रपतिले प्रधानमन्त्री र ओली, देउवाबीच सहजीकरण गरेपछि तिक्तता केही मेटिएको छ । प्रधानमन्त्री कार्की स्वयंले शनिबारको भेटघाटमा अवस्था थप सामान्य बनाउन प्रयास गरिन् ।
चुनाव सफल पार्न प्रधानमन्त्रीको आग्रह, कांग्रेस एमालेको सुरक्षा चिन्ता
बालुवाटार छलफलमा प्रधानमन्त्री कार्कीले फागुन २१ का लागि घोषित निर्वाचन सफल बनाउनका लागि आग्रह गरिन् । ‘यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ । यो हामी सबैको जिम्मेवारी हो । यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई निम्ता गरेकी हुँ,’ प्रधानमन्त्री कार्कीलाई उद्धत गर्दैै उनका प्रेस संयोजक रामबहादुर रावलले भने ,‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामीले चुनावको तयारी गरिरहेका छौँ । प्रशासनिक कामकारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु ।’
भेटमा सहभागी ओली, देउवा र दाहालले चुनावमा जान तयार रहेको बताए । भेटपछि कांग्रेस सभापति देउवाले भने, ‘सबै पार्टीहरु चुनावमा जान तयार छन । कांग्रेस लगायत सबै पार्टी तयार छन् तर यसको लागि वातावरण बनिसक्या छैन । वातावरण बनाउन प¥यो । सुरक्षाको व्यवस्था हुनुप¥यो त्यही हो ।’
प्रधानमन्त्री कार्कीले दलहरुले राखेको सुरक्षा चिन्ताबारे जवाफ दिँदै सरकारले सुरक्षाको वातावरण तयार पार्ने प्रतिबद्धता जनाएकी थिइन् ।
एमाले र कांग्रेस चुनाव भन्दा संसद् पुनःस्थापनामा जोड दिइरहेका बेला प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन थालेको प्रयास कति सार्थक होला ? चासोका साथ हेरिएको छ ।