काठमाडौं । आसन्न निर्वाचनलाई ध्यानमा राखेर रवि लामिछाने र बालेन्द्र शाहबीच एकता भएको छ । एक साता लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौंका मेयर शाहबीच आइतबार एकाबिहानै सात बुँदे सहमति भएको हो । चुनावपछि प्रधानमन्त्री बनाउनले रवि लामिछानेको प्रतिबद्धतापछि शाह रास्वपामा पुगेका हुन् । तर, रवि र बालेनसँग छलफलमा रहेपनि सहमतिमा छुटेका कुलमान घिसिङ भने अन्तिम समयमा एकता प्रक्रियामा सामेल भएनन् । चुनावी सरकारका ऊर्जा, एवम् शहरी विकास मन्त्री कुलमान के गर्लान् ? चासोको विषय छ ।
घिसिङ संरक्षक रहेको दल उज्यालो पार्टीका नेताहरू रवि–बालेन एकतामा छुट्दैमा आफूहरू नआत्तिने बताउँछन् । उनीहरू राष्ट्रिय र क्षेत्रीय दलहरू, स्वतन्त्र व्यक्ति र विभिन्न विधामा नाम कमाएका व्यक्तिहरूलाई जोड्ने गृहकार्यमा छन् ।
७ बुँदे सहमति गरेर चुनावका लागि वैकल्पिक शक्तिको धु्रवीकरणलाई बल दिएका बालेन र रविले कुलमानलाई सहमतिमा ल्याउन संवाद छाडेका छैनन् । समाचार तयार पार्दासम्म तीन नेताबीच संवाद भइरहेको छ । सोमबार बिहानसम्म सम्भवतः धु्रवीकरणको नयाँ अध्याय थपिने सम्भावना छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य केदार खड्काले शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले सबैसँग सहकार्यका लागि ढोका खुल्ला राख्ने निर्णय गरेको सुनाए । ‘प्रगतिशील सोच भएका राष्ट्रिय र क्षेत्रीय पार्टीहरू, विभिन्न क्षेत्रमा नाम कमाएका मानिसहरू र अरु स्वतन्त्र व्यक्तिहरू पनि संवादमा हुनुहुन्छ,’ खड्काले भने,‘रास्वपासँग पनि सहकार्यको सबै ढोका बन्द भइसकेको छैन । पार्टी एकता नभएपनि चुनावी तालमेल हुनसक्छ ।’

उज्यालो नेपाल पार्टीसँग प्रगतिशील लोकतान्त्रिक पार्टीे सहकार्यको सहमति नजिक रहेको अध्यक्षमध्येका एक सुदन किराँतीले बताए । ‘हामी संवादमा छौं, सहमति नजिक छौं,’ उनले भने । प्रलोपाका संरक्षक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् ।
उज्यालो र प्रलोपाबिच एउटै चुनाव चिह्न लिएर सहकार्य गर्नेबार छलफल भएको छ । ‘पार्टी एउटै बनाउने भन्दा चुनाव चिह्न एकै कायम गर्ने दिशामा छलफल चलेको छ । अरू वैचारिक, सैद्धान्तिक र राजनीतिक सहमति जुट्दै जाला,’ प्रलोपाका अर्का एक नेताले बताए । शनिबार बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले प्रलोपासँग कुराकानी अगाडि बढाउने निर्णय गरेको थियो ।
यी दुई पार्टीहरूबीच सहकार्य अघि बढाउने विषयमा प्रलोपाकातर्फबाट सुदन किराती, सन्तोष परियार र उज्यालो पार्टीबाट कुलमान घिसिङ नै संवादमा छन् ।
उज्यालो नेपाल पार्टीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग पनि छलफल जारी राखेको छ । उज्यालोका नेताहरूका अनुसार नाउपाका रेशम चौधरीसँग असन्तुष्टहरू उज्यालो प्रवेश गर्ने अन्तिम चरणमा छन् । नाउपाका तर्फबाट लुम्बिनी प्रदेश सभाका एक सांसदले भने, ‘नाउपाका हामी तीन प्रदेश सभाका सांसद उज्यालोमा जाने तयारीमा छौं ।’ शनिबार मध्यरातसम्म पनि बालेन र कुलमानबीच पनि संवाद जारी थियो । बालेन कुलमानसहित रास्वपा प्रवेश गर्ने अडानमै थिए । तर, अन्तिममा बालेन र रविको प्रस्तावमा कुलमान सहमत नहुँदा आइतबार बिहान रवि र बालेनबीच ७ बुँदे सहमति भएको थियो । रास्वपा उपसभापति स्वर्णिम वाग्ले अझै कुलमानसँग एकताको सम्भावना टरिनसकेको बताउँछन् ।
‘रास्वपा र बालेनजी बीचको सहमतिको बुँदा नं ७ मा अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने भनेका छौं । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अगाडि बढाउन सबै सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो आह्वान छ ।’
एकीकृत भएर जाने सवालमा भएको छलफलमा रास्वपाले पार्टीको अध्यक्ष लामिछाने नै, नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै राख्दा आफ् नो पार्टीको अस्तित्व के हुने भन्ने प्रश्न कुलमान घिसिङले उठाएका थिए । अस्तित्व समाप्त हुनेगरि पार्टी एकीकरणका लागि तयार नभएका उनलाई फकाउने प्रयास रास्वपाले जारी राखेको छ । बालेन नै उनलाई आफू समाहित धारमा उनलाई ल्याउन चाहन्छन् । परम्परागत दललाई चुनौती दिन वैकल्पिक शक्ति बीचको एकता प्रक्रिया अगाडि बढाउन रास्वापा नेताहरूलाई दबाब परेको छ ।

बालेनको मुभ के ?
कुनै बेला दलहरूलाई ‘चोरहरू’ भनेर गाली गरेर बालेन रास्वपासँग ७ बुँदे सहमति गर्दै दलीय राजनीतिमा प्रवेश गरेका छन् । उनी रास्वपामार्फत आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने हतारको घोषणा सभापति लामिछानेले गरिसकेका छन् । बालेन जसरी पनि जेनजी आन्दोलनकारीको समर्थन आफूलाई हुनुपर्छ भन्ने पक्षमा छन् । रास्वपाको लोभ पनि जेनजी रिझाएका बालेनलाई आफ्नो दलमा मिलाउँदा कांग्रेस–एमालेलाई चुनौती दिन सकिन्छ भन्ने हो ।
बालेनले बुँदागत सहमतिमा हस्ताक्षर गरेर रास्वपा प्रवेश गर्नुअघि जनमत पार्टीका अध्यक्ष सीके राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नाउपा नेपालका संस्थापक रेशम चौधरी, निवर्तमान सांसद अमेरशकुमार सिंह, सामाजिक अभियन्ता सुरेन्द्र चौधरी, कांग्रेसका सुनील शर्मा, डा. भगवान कोइराला लगायतसँग छलफल गरेका थिए । तर, उज्यालो नेपाल पार्टीसहित प्रलोपा र मधेसकेन्द्रीत दल बालेनसँग रास्वपा जान तयार देखिएनन् ।
रास्वपामा आफूमात्र मिसिँदा प्रधानमन्त्री बन्न चुनौती देखेपछि बालेनले सर्वपक्षीय छलफल गरेको उनी निकट बताउँछन् । बालेनले बोलाएको निम्तो स्वीकारे पनि रास्वपासँग मिल्न उनले गरेको आह्वान छलफलमा आएकाहरूले स्विकारेनन् । मधेस केन्द्रित दलहरूले मधेसको एजेन्डामा कुरा नमिल्दा सहकार्य हुन नसकेको बताएका छन् । तर, उनीहरू चुनावी सहकार्यका लागि भने इच्छुक देखिन्छन् । जनमत पार्टीका अध्यक्ष राउतले मेयर शाहले आफूलाई एकताका लागि आग्रह गरेको तर आफूहरू त्यसको पक्षमा नरहेको जानकारी दिए । उनले भने, ‘रवि र बालेनजी मधेसको एजेन्डामा अलि स्पष्ट देखिनुभएको छैन । उहाँहरूले सँगै जाऔं भन्नुभयो तर हामी एकताको पक्षमा छैनौं । बरु कार्यगत एकता वा सहकार्यको विषयमा छलफल गर्न सकिन्छ भनेको छु।’
आफ्ना नेता रेशम चौधरीले कुराकानी गरेको तर एजेन्डामा कुरा नमिलेकाले अगाडि नबढेको नाउपाका उपाध्यक्ष अब्दुल खानले आफ्नो बताए । ‘वैकल्पिक शक्ति बनाउने कुरा भए पनि मधेसबारे स्पष्ट एजेण्डा नहुँदा कुरा अगाडि नबढेको हो,’ उनले भने ।
तर आफ्नै पार्टीका केही नेताहरू घिसिङको उज्यालो पार्टीमा जाने तयारीमा भएपछि रेशम भने कसैगरि रास्वपासँग सहकार्य गर्ने प्रयासमा रहेको सोही पार्टीका असन्तुष्ट नेताहरू बताउँछन् । विघटित प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले पनि मधेसको मुद्दामा स्पष्ट नभएकाले सहकार्य गर्न तयार नभएको बताए । तर, बालेनले पार्टी एकता गराउने र नसकेपनि चुनावी सहकार्य गररे आफ्नो पक्षमा आउने संसदमा बहुमत पुर्याउनका लागि प्रयास जारी राख्ने उनको सचिवालयका एक नेताले बताए ।
संविधानतः प्रधानमन्त्री बन्नका लागि संसदमा बहुमत अर्थात् १३८ सिटको संख्या आवश्यक पर्छ । जुन मिश्रित निर्वाचन प्रणालीमा कुनै एउटा दलका लागि सहज देखिँदैन । बालेनले रास्वपासँग सहमति गरेर प्रधानमन्त्रीको आकांक्षी बने पनि बन्न सजिलो छैन । प्रक्रियामा अघि बढ्न सांसद बन्ने बाटो पहिलो तय गर्नुपर्नेछ । त्यसका लागि काठमाडौं महानगरको मेयर पद छाड्नु पर्नेछ ।
काठमाडौं महानगरपालिकाको एउटा शहर सुधाररे मात्र समग्र देशको अवस्था परिवर्तन हुन नसक्ने भएकाले राज्यको मूल संयन्त्र र नीति निर्माणको केन्द्रमै पुगेर काम गर्नुपर्ने आवश्यकता महसुस गरेर बालेनले जोखिम उठाएको उनका स्वकीय सचिव भूपदेव शाह बताउँछन् । बालेन निकटस्थ ७ बुँदे सहमतिअनुसार रास्वपाभित्र प्रधानमन्त्रीका लागि अरु उम्मेदवार नबनाइनेमा भने विश्वस्त देखिन्छ ।