काठमाडौं – एमालेले समानुपातिक उम्मेदवारको सूची टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । एमाले सचिवालय बैठकमा आइतबार प्रस्तावित नामहरूमा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा ओलीलाई दिइएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिए ।
बैठकपछि उनले भने, ‘अध्यक्षले समानुपातिक ११० नाम प्रस्ताव प्रस्तुत गर्नुभयो । साथीहरूको राय आएको छ । अन्तिम रुप दिने अधिकार अध्यक्षलाई दिइएको छ । सोमबार अध्यक्षले टुंग्याएपछि निर्वाचन आयोगमा बुझाइने छ ।’ पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न पनि बैठकले निर्देशन दिएको छ । सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको हो ।
त्यस्तै, नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ । २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने कांग्रेसले बताएको छ । पार्टीमा पटक–पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने कांग्रेस कार्यसम्पादन बैठकको निर्णय छ ।
एमाले, कांग्रेस, नेकपासहित अन्य राजनीतिक दलले पनि सोमबार समानुपातिक सूची आयोगमा बुझाउने छन् । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने छ भने आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाशन गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने छ ।