नेभिगेशन
प्रदेश

दुप्चेश्वरमा एक करोड बढी भेटी सङ्कलन

त्रिशूली (नुवाकोट), ५ भदौः नुवाकोटको प्रमुख धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा गत आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सो आम्दानीबाटै रु ३२ लाख २१ हजार खर्च गरिएको छ ।

कोषले आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै आएको छ । हरेक दिन साँझ मन्दिर परिसरमा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने प्रबन्ध गाँउपालिकाले मिलाएको छ ।  

गत साउनमा मात्रै करिब ५० हजार भक्तजनले मन्दिर दर्शन गरेका छन् । सोही अवधिमा रु ३१ लाख ८३ हजार बराबरको भेटी सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

पौराणिक कथन अनुसार ४०० वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएकाले उक्त ठाउँको शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पुज्न थालिएको थियो । 

‘भक्तजनले जे मागे पनि सिद्ध गराउने भगवान’ को रूपमा पुजिने दुप्चेश्वर महादेव प्रति श्रद्धा र जनविश्वास बढ्दै गएको छ । यहाँ देशका विभिन्न स्थानबाट दैनिक हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू आउने गर्छन् । पुजारी धितालका अनुसार दुप्चेश्वर मन्दिरमा पूजा गरेपछि सन्तान प्राप्त हुने जनविश्वास छ । 

बोली नफुटेका बालबालिका मन्दिरमा दर्शन गराएपछि बोल्न थाल्ने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउने विश्वास गरिन्छ । “धेरै भक्तजन मनोकामना पूरा भएपछि दोहोर्‍याएर दर्शन गर्न आउने गरेका छन्”, पुजारी धितालले भने ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्