लण्डन, (बीबीसी) – तपाईंले अन्तिम पटक एआई च्याटबोटलाई के काम गर्न लगाउनुभएको थियो ? सायद तपाईंले कुनै कठिन प्रश्नको उत्तरका लागि निबन्धको रूपरेखा बनाउन भने को हुन सक्छ । वा ठूलो डाटासेटको गहिरो विश्लेषण गर्न, वा तपाईंको कभर लेटर जागिरको विवरणसँग मिल्छ कि मिल्दैन भनेर जाँच गर्न लगाउनुभएको हुन सक्छ ।
केही विज्ञहरूलाई के चिन्ता छ भने, यस्ता कामहरू एआईलाई गर्न लगाउँदा हाम्रो दिमागले कम मेहनत गर्न थाल्छ । यस्तो कामले हाम्रो आलोचनात्मक सोच (क्रिटिकल थिङ्किङ) र समस्या समाधान गर्ने क्षमतामा नकारात्मक असर पार्न सक्छ ।
यसै वर्षको सुरुमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले एक अध्ययन प्रकाशित गरेको थियो । उक्त अध्ययनले निबन्ध लेख्न च्याटजीपीटी प्रयोग गर्ने व्यक्तिहरूमा त्यस समयमा संज्ञानात्मक प्रक्रियासँग सम्बन्धित मस्तिष्क नेटवर्कको गतिविधि कम देखिएको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले भनेका छन्– यस अध्ययनले ‘सिकाइ क्षमतामा सम्भावित गिरावटको गम्भीर चिन्ता’ उजागर गरेको छ । यस अध्ययनमा एमआईटी र वरपरका विश्वविद्यालयबाट छानिएका जम्मा ५४ जना सहभागी थिए ।
सहभागीहरूको मस्तिष्क गतिविधि इलेक्ट्रोएन्सेफालोग्राफी (ईईजी) मार्फत रेकर्ड गरिएको थियो । यस प्रक्रियामा टाउकोको छालामा इलेक्ट्रोड जडान गरिन्छ । सहभागीहरूले एआईलाई निबन्धका प्रश्नहरूको सार तयार गर्न, स्रोत खोज्न, तथा भाषा र शैली सुधार गर्नजस्ता काम गराएका थिए । एआईलाई आइडिया उत्पन्न गर्न र तिनलाई व्यवस्थित गर्न पनि प्रयोग गरिएको थियो तर केही प्रयोगकर्ताहरूको धारणामा यस मामिलामा एआई खासै प्रभावकारी छैन ।
अर्को एक अध्ययनमा, कार्नेगी मेलोन युनिभर्सिटी र माइक्रोसफ्ट (जसले कोपाइलट एआई सञ्चालन गर्छ) ले पत्ता लगाएअनुसार यदि मानिसहरू एआईमा अत्यधिक निर्भर भए भने उनीहरूको समस्या समाधान गर्ने क्षमता कमजोर हुन सक्छ । अनुसन्धानकर्ताहरूले हप्तामा कम्तीमा एक पटक एआई टुलहरू प्रयोग गर्ने ३१९ जना ह्वाइट– कलर कर्मचारीको सर्भे गरेका थिए ।
उनीहरूलाई एआई प्रयोग गर्दा कसरी क्रिटिकल थिंकिङ अपनाउँछन् भन्ने प्रश्न सोधिएको थियो । यस अध्ययनमा एआईलाई दिइएका ९०० फरक–फरक कार्यहरूको विश्लेषण गरिएको थियो । यी कार्यहरूमा नयाँ निष्कर्ष निकाल्न डाटाको विश्लेषणदेखि कुनै काम ठ्याक्कै नियमअनुसार छ कि छैन भनेर जाँच गर्नेसम्मका काम समावेश थिए ।
अध्ययनअनुसार, मानिसहरूले एआईको क्षमतामा जति धेरै भराेसा गर, त्यति नै कम उनीहरूले क्रिटिकल थिंकिङ प्रयोग गरेका थिए ।
अध्ययनमा भनिएको छ, ‘जेनेरेटिभ एआईले कामको दक्षता बढाउन सक्छ तर यसले कामसँग जोडिएको गहिरो सोचलाई अवरुद्ध गर्न सक्छ र दीर्घकालमा टुल्समा अत्यधिक निर्भरता समस्या समाधान क्षमतामा कमी ल्याउन सक्छ ।’
यसै प्रकारको अर्को अध्ययन बेलायतमा स्कूलका विद्यार्थीहरूमा पनि गरिएको थियो । सो अध्ययन गएको अक्टोबरमा अक्सफोर्ड युनिभर्सिटी प्रेसले प्रकाशित गरेको थियो । अध्ययनमा हरेक दस जना विद्यार्थीमध्ये छ जनाले एआईले स्कूलको कामसँग सम्बन्धित आफ्ना क्षमतामा नकारात्मक असर पारेको महसूस गरेको बताएका थिए ।
यस्तो अवस्थामा, एआईको तीव्र प्रयोग बढिरहेको बेला प्रश्न उठ्छ— के हाम्रो संज्ञानात्मक (कग्निटिभ) क्षमता कमजोर हुने जोखिममा छ ? अक्सफोर्ड युनिभर्सिटी प्रेसकी जेनेरेटिभ एआई विशेषज्ञ तथा स्कूल सर्भेमा संलग्न डा. एलेक्जेन्ड्रा टोमेस्कू भन्छिन्, ‘वास्तवमा अत्यधिक एआईको प्रयोगले हाम्रो संज्ञानात्मक क्षमता कमजोर हुन्छ नै भन्ने अनिवार्य छैन ।
उनका अनुसार, ‘हाम्रो अध्ययनले के देखायो भने, दसमध्ये नौ जना विद्यार्थीले एआईले स्कूलको कामसँग सम्बन्धित कम्तीमा एउटा क्षमता सुधार गरेको थियो । त्यो समस्या कहिलेकाहीँ समाधान गररे होस्, सिर्जनशीलतासम्बन्धी होस् वा रिभिजनबारे होस् । त्यसैले संज्ञानात्मक क्षमता कमजोर बनाउँछ नै भन्ने छैन ।’
तर साथसाथै, करिब एक चौथाइ विद्यार्थीले एआई प्रयोग गर्दा काम अत्यन्तै सजिलो भएको बताएका छन् । अर्थात् यो विषय निकै सूक्ष्म र जटिल छ ।
डा. टोमेस्कूका अनुसार धेरै विद्यार्थी एआईको सही प्रयोगबारे थप राम्रो वा नराम्रो जानकारी जान्न चाहिरहेका छन् । च्याटजीपीटीका प्रमुख स्याम अल्टम्यानका अनुसार, प्रत्येक हप्ता यसको प्रयोगकर्ता संख्या ८० करोडभन्दा बढी छ । च्याटजीपीटीले विद्यार्थीहरूका लागि १०० वटा प्रम्प्टको सेट पनि सार्वजनिक गरेको छ, ताकि उनीहरूले यस प्रविधिको राम्रो उपयोग गर्न सकून् ।
तर युनिभर्सिटी कलेज लन्डनमा कृत्रिम बुद्धिमत्ता र शिक्षामा अनुसन्धान गर्ने प्राध्यापक वेन होम्सको विचारमा यो अध्ययन पर्याप्त नरहेको बताउँछन् । उनी चाहन्छन् कि विद्यार्थीहरूलाई एआई टुल्स प्रयोग गर्न प्रोत्साहित गर्नुअघि, यसले सिकाइमा पार्ने असरबारे अझ व्यापक शै क्षिक अनुसन्धान गरियोस् ।
प्रो. होम्स भन्छन्, ‘अहिलेको अवस्थामा शिक्षामा यी टुल्सको प्रभाव, तिनको सुरक्षा, वा तिनको असर साँच्चिकै सकारात्मक छ भन्ने प्रमाणित गर्ने ठूला स्तरका स्वतन्त्र प्रमाणहरू उपलब्ध छैनन् ।’
नतिजा राम्रो, कमजोर सिकाइ
प्रोफेसर वेन होम्स ‘कग्निटिभ एट्रोफी’ सम्बन्धी अनुसन्धान गर्छन् । उनले एआई प्रयोगपछि व्यक्तिको क्षमता र सीप बिस्तार कमजो र हुँदै जाने अवस्थाबारे अध्ययन गरेको निकै भइसक्यो । उनका अनुसार, यस्तो समस्या ती रेडियो लोजिस्टहरूमा देखिएको छ, जो बिरामी जाँच्नुअघि एक्स–रे बुझ्न एआई टुल्समा भर पर्न थालेका छन् ।
गत वर्ष हार्वर्ड मेडिकल स्कूलले प्रकाशित गरेको एउटा अध्ययनमा एआईको सहायताले केही चिकित्सकको प्रदर्शन सुधारिएको त थियो तर केहीको कमजोर भएको पनि पाइएको थियो ।
शुरुमा त अनुसन्धानकर्ताहरूले किन यस्तो भयो भन्ने कुरा बुझ्नै सकेनन् । अध्ययनका लेखकहरूले मानिस र एआई कसरी सँगै काम गर्छन् भन्ने बुझ्न थप अनुसन्धानको माग गरेका छन् । ताकि मानवको प्रदर्शनलाई कमजोर बनाउने होइन, सुधार गर्ने तरिकाहरू विकास गर्न सकियोस् ।
प्रो. होम्सलाई के आशंका छ भने स्कूल वा विश्वविद्यालयका विद्यार्थीहरू आफ्नो कामका लागि एआईमा ज्यादै निर्भर हुन सक्छन् । यसले शिक्षामार्फत प्राप्त हुने आधारभूत सीप विकासमा बाधा पुर्याउन सक्छ ।
एआईको सहयोगले विद्यार्थीको निबन्धले राम्रो अंक त ल्याउन सक्छ तर के विद्यार्थीले साँच्चिकै पर्याप्त बुझाइ विकास गरिरहेका छन् त ? प्रो. होम्स भन्छन्, ‘उनीहरूको आउटपुट राम्रो देखिनुको अर्थ विद्यार्थीको सिकाइ उम्दा हुनु होइन । कालान्तरमा विद्यार्थीको सिकाइ झन्माथि झन् कमजोर हुँदै जानेछ ।’
च्याटजीपीटी के भन्छ ?
यसैबीच, अक्सफोर्डसँगको सहकार्यमा भूमिका खेलेकी च्याटजीपीटीको स्वामित्वमा रहेको कम्पनी ओपनएआईकी इन्टरनेसनल एजुकेसन प्रमुख जयना देवानी भन्छिन्, ‘कम्पनी यस किसिमको बहसप्रति पूर्ण रूपमा सचेत छ ।’
बीबीसीसँग कुरा गर्दै उनले भनिन्, ‘विद्यार्थीहरूले आफ्नो काम आउटसोर्स गर्न च्याटजीपीटी प्रयोग गर्नुपर्छ नै भन्ने कुरा मान्दैनौं । च्याटजीपीटीको सबैभन्दा राम्रो प्रयोग ट्यूटरको रूपमा हुनुपर्छ, न कि सिधै उत्तर दिने टुलका रूपमा ।’
उनी ‘स्टडी मोड’ सेटिङ प्रयोग गररे च्याटजीपीटीसँग प्रश्न–उत्तर गर्न सुझाव दिन्छिन् । विद्यार्थीले आफूलाई बुझ्न गाह्रो भएको प्रश्न हाल्छ र च्याटबोटले त्यसलाई भाग–भागमा विभक्त गररे बुझाउन मद्दत गर्छ । उनी अर्को उदाहरण पनि दिन्छिन्ः ढिलो राति त्यस्तो विषयमा असाइनमेन्ट गर्नुपर्दा, जुन विद्यार्थीले राम्ररी बुझेको छैन, त्यस्ता विद्यार्थीले आधारातमा आफ्नो युनिभर्सिटीको ट्यूटरलाई इमेल गररे सहयोग माग्न सक्नुहुन्न ।
‘मेरो विचारमा, यदि च्याटजीपीटी लक्षित र सोचीविचारी प्रयोग गरियो भने, विद्यार्थीको सिकाइ प्रक्रियालाई तीव्र बनाउने ठूलो क्षमता छ,’ उनी भन्छिन् ।
तर प्रो. वेन होम्सको जोड छ, ‘एआई टुल्स प्रयोग गर्ने हरेक विद्यार्थीले ती कसरी काम गर्छन्, तिनको रिजनिङ कसरी बनिन्छ र यी सेवा दिने कम्पनीहरूले डाटा कसरी व्यवस्थापन गर्छन् भन्ने बुझ्नुपर्छ । उनका अनुसार, एआईबाट प्राप्त परिणामलाई सधैं जाँच गर्नुपर्छ । जाँचेन भने त्यसले कहिलेकाहीँ गलत उत्तर वा जानकारी पनि दिएको हुनसक्छ ।’
एआईको दीर्घकालीन क्षमता र प्रभावतर्फ संकेत गर्दै उनी भन्छन्, ‘यो क्याल्कुलेटरको नयाँ संस्करण मात्र होइन । त्यसैले म आफ्ना विद्यार्थीहरूलाई कहिल्यै ‘एआई प्रयोग नगर्नू’ भन्दिनँ तर म के पनि भन्छु भने यससँग सम्बन्धित सबै पक्ष बुझ्न जरुरी छ, ताकि तपाईंले सोचीविचारी निर्णय लिन सक्नुहोस् ।’