नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स क्यापिटलको क्षमतामा स्तरवृद्धि

काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष व्यवस्थापनमा क्रेडिट रेटिङ बढेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीको ‘एएमसी क्वालिटी थ्री’ रेटिङलाई स्तरोन्नति गर्दै ‘एएमसी क्वालिटी थ्री प्लस’ प्रदान गरेको छ ।

नयाँ रेटिङले कम्पनीको व्यवस्थापन संरचना सुदृढ छ र निर्णय प्रक्रिया व्यवस्थित भन्ने संकेत गर्छ । जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र अनुपालन प्रणाली सन्तोषजनकभन्दा राम्रो अवस्थामा रहेको सँगै लगानी रणनीति, कोष व्यवस्थापन क्षमता र प्रतिफल सिर्जना गर्ने क्षमता निरन्तर सुधारोन्मुख रहेको पनि जनाउँछ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन दायित्व पूरा गर्ने क्षमता राख्दछ । ‘थ्री प्लस’ ले साधारण ‘थ्री’ भन्दा गुणस्तर, स्थायित्व र सुशासनमा थप मजबुती आएको जनाउँछ ।

सिटिजन्स क्यापिटलले व्यवस्थापन क्षमतामा आएको निरन्तर सुधारका आधारमा उक्त रेटिङ पाएको हो । यो रेटिङले कम्पनीको सञ्चालन स्थायित्व, सुशासन अभ्यास, अल्पकालीन तथा दीर्घकालीन लगानी रणनीति, सामूहिक लगानी कोष योजनाबाट प्राप्त प्रतिफल र दीर्घकालीन व्यवसायिक सम्भावनालाई सकारात्मक रूपमा प्रतिबिम्बित गरेको छ ।

सिटिजन्स क्यापिटलले योजना व्यवस्थापन तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ छन् । एएमसी थ्री प्लस रेटिङलाई कम्पनीले सेवा गुणस्तर र लगानीकर्ताप्रतिको प्रतिबद्धताको महŒवपूर्ण उपलब्धि भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्