नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय घर निर्माण फेस्ट काठमाडौंमा सुरु

काठमाडौं – राष्ट्रिय घर निर्माण फेस्ट २०८२ आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा सुरु भएको फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन् ।

मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालमै घर निर्माण तथा निर्माण सामग्रीसँग सम्बन्धित अवसरहरू उपलब्ध रहेको सन्देश दिने उद्देश्य राखेको मन्त्री घिसिङले बताए । उनले निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको यस फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको आयोजकको भनाइ छ । फेस्टको पहिलो दिन मात्रै १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको घर निर्माण फाउन्डेसनले जनाएको छ । फेस्टमा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा विश्वकै ठूलो इट्टासहित विभिन्न प्रकारका निर्माण सामग्री, उपकरण तथा प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् । साथै ‘उल्टो घर’, ‘डोम हाउस’ र ६ लाख रुपैयाँ लागतमा बन्ने घरलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।

आइतबार देखि सुरु भएको फेस्ट मंगलबारसम्म सञ्चालन हुनेछ । नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले आफ्ना उत्पादन आकर्षक रूपमा प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा ब्रान्डिङमा चुनौती झेल्दै आएको भन्दै सो समस्याको समाधानका लागि घर निर्माण फेस्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शको व्यवस्था गरिएको छ, जसबाट व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्