नेभिगेशन
राजनीति

संशय चिर्दै देश चुनावतर्फ

काठमाडौं । जेनजी आन्दोलनपछि सृजित राजनीतिक अन्योललाई चिर्दै देश निर्वाचनतर्फ अघि बढेको छ । फागुन २१ गतेका लागि घोषित निर्वाचन के हुन्छ भन्ने संशयसँगै सोमबारबाट देश निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते निर्वाचन गर्ने जिम्मेवारीसहित सुशीला कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए । सोमबार दलहरूले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने प्रक्रियामा दलहरू तयार भएपछि निर्वाचनको संशय हटेको छ ।

प्रधानमन्त्री भएपछि कार्की स्वयंको तीन दलका शीर्ष नेताको मुख हेर्न मन नलागेको अभिव्यक्ति, चुनाव होइन संसद् पुनःस्थापना हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको अडान र प्रतिनिधिसभा पुनःस्थापनाका लागि अदालत पुग्ने क्रम बढेपछि निर्वाचनको मिति सर्छ कि भन्ने संशय थियो । तर, समानुपातिकतर्फको बन्दसूची आयोग पुगेपछि त्यस्तो संशय हटेको हो । दलहरू निर्वाचनका लागि तयार भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र तीन दल एमाले, कांग्रेस र नेकपाका मुख्य नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको वातावरण बनाइदिएपछि देश निर्वाचनतर्फ अघि बढेको थियो । केही दिनअघि प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा भएको ओली, देउवा र प्रचण्डबीचको बैठकमा चुनावका लागि दलहरू तयार भएका थिए । तर, उनीहरूले सुरक्षाको सुनिश्चितता खोजेका थिए भने प्रधानमन्त्री कार्कीले सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेकी थिइन् ।

समानुपातिकको बन्दसूची आयोगमा

चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोग सक्रिय देखिएको छ । निर्वाचनको कार्यतालिकाअनुसार आयोगले काम अघि बढाइरहेको छ । तोकिएको मितिमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका मेटिँदै गएको र अब यो छलफलको विषय नरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । सोमबार समानुपातिकको बन्दसूची आयोगले बुझेको छ । समानुपातिक बन्दसूचीको अन्तिम सूची भने माघ २० गते मात्रै प्रकाशित गर्ने तालिका छ । उनले बन्दसूची बुझाएपछिका प्रक्रियागत चरणहरू पुरा गर्न केही समय लाग्ने बताए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगका अनुसार सोमबार अबेर रातसम्म समानुपातिकतर्फको बन्दसूची ५५ दलले बुझाएका छन् ।

नेपाल मजदूर किसान पार्टीले ११० उम्मेदवारको सूची बुझाएको छ । यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२ जना र राष्ट्रिय जनमोर्चा– ११० जना उम्मेदवारको सूची बुझाएको छ । यी तीन दलले आइतबार नै बन्दसूची बुझाएका थिए । सोमबार जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जना, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले २० जना, गतिशील लोकतान्त्रिक पार्टीले ११ जना, जनता समाजवादी पार्टी, नेपाल १०१ जना, समावेशी समाजवादी पार्टीले ३१ जना र समावेशी समाजवादी पार्टी, नेपालले १२ जना उम्मेदवारको सूची बुझाएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत मुख्य दलहरूले मध्यरातसम्म सूची बुझाउने बताएका छन् । समानुपातिकतर्फको बन्दसूची बुझ्न आयोगले सोमबार राती १२ बजेसम्मका लागि तोकेको आयोगका प्रवक्ता भट्टराईले बताए । कार्यालय समयभित्र आयोग परिसरमा प्रवेश गरेका सबै दलहरूलाई कार्यालय समय सकिएपछि पनि रातभर सेवा दिइने उनले जानकारी दिए ।

उनका अनुसार दलहरूले बुझाएको सूची दर्ता भएपछि माघ १५ गतेदेखि २० गतेसम्म आयोगले उम्मेदवारको सूची विस्तृत रूपमा अध्ययन गर्नेछ । ‘दलहरूले बुझाएको उम्मेदवारको सूची प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची १ अनुसार छ कि छैन भन्ने जाँच हुन्छ । साथै समानुपातिक प्रतिनिधित्वको व्यवस्था अनुसार छ कि छैन भन्ने पनि हेरिन्छ ,’ आयोगका प्रवक्ता भट्टराईले भने । दलहरूले पठाएको सूची क्लस्टरअनुसार नमिलेको खण्डमा २० गतेपछि पुनः नाम मिलाएर पठाउन अनुरोध गरिने उनले बताए । माघ २१ गतेदेखि २७ गतेसम्म दलहरूले विधि र प्रक्रिया अनुसार नाम संशोधन गरेर पठाउन सक्नेछन् ।

त्यसपछि उम्मेदवारले नाम फिर्ता लिन पाउने, दलहरूले नाम हटाउन सक्ने, दाबी–विरोध गर्न पाउने तथा अन्तिम नामावली प्रकाशन गर्ने जस्ता चरणहरू क्रमशः अघि बढ्ने छ । 

गत असोज २० गते निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार पुस १३ र पुस १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकिएको थियो । प्रतिनिधिसभा सदस्यको कुल सँख्या २७५ मध्ये ४० प्रतिशत वा ११० जना सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

समानुपातिकतर्फ देशभरिबाट खसेका सदर मतको ३ प्रतिशत मत नल्याउने दलले कुनै पनि सीट पाउँदैनन् । ३ प्रतिशत कटाउने दलहरूको कुल मतलाई शतप्रतिशत मानेर तिनले पाएको मतका आधारमा सीट बाँडफाँट हुन्छ ।

दलहरूबीच ध्रुवीकरण : सबैको आआफ्नै कित्ता

निर्वाचनको वातावरण बन्दै गएपछि दलहरूबीच ध्रुवीकरण बढेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगले तोकेको समयसीमा भित्र कतिपय दलहरूबीच एकता घोषणा भएको छ । रास्वपादेखि राप्रपासम्म, मधेशवादी दलदेखि जातीय–क्षेत्रीय समुहसम्म मिलेका छन् । दलहरूबीचको एकता निर्वाचनमा धेरै मत ल्याउने र आफ्नो शक्ति बढाउनका लागि भइरहेको देखिन्छ ।

जेनजी आन्दोलनको पक्षमा रहेका शक्तिहरू एक ठाउँमा आउँदा अन्य पुराना राजनीतिक दलहरू पनि एक ठाउँमा उभिएका छन् । नयाँ वैकल्पिक शक्तिका रुमपा हेरिएका रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एक ठाउँमा आइपुगेका छन् । उनीहरू सबै अब राष्ट्रिय स्वतन्त्र पार्टीमै अँटाएका छन् । त्यसअघि नै विवेकशील साझा पार्टी रास्वपामा विलय भइसकेको थियो । ‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र सुदृढ बन्दै छ । बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ हो । हामी जनताको विश्वासमै अझै शसक्त र सबल हुनेछौं,’ रास्वपा उपसभापति डीपी अर्याल भन्छन् ।

मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच आइतबार एकीकरण भएको छ । मधेसका ठुला नेता मानिएका उपेन्द्र यादव र महन्थ ठाकुर पार्टी एकता गर्दै मधेसमा आफ्नो प्रभुत्व कायम राख्न कस्सिएका छन् ।

त्यस्तै, राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पनि एकीकरण भएको छ । यो अभियानका मूल नेता राजेन्द्र लिङ्देन र कमल थापा निर्वाचन नजिकिँदै जाँदा एकता गर्दै आफ्नो जनमत बढाउन सहमत भएका छन् ।

त्यस्तै, पुष्पकल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पनि एकता भएको छ । सोमबार पेरिसडाँडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाव चिन्ह तारा मान्ने सहमति भएको छ । नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्