नेभिगेशन
विश्व

सीमित सूचना र पहुँचको भरमा पत्रकारिता गर्न बाध्य अफगान पत्रकारहरू

काबुल । काबुलका पत्रकारहरूलाई उद्धृत गर्दै टोलो न्यूजले अफगानका पत्रकारहरूले सीमित जानकारी न्यून पहुँचको आधारमा सूचना प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताएको छ । उनीहरूले सीमित सूचना र पहुँचका कारण प्रभावकारी सूचना प्रवाहमा कठिनाई आएको भन्दै चिन्तासमेत गरेका टोलो न्यूजले जनाएको छ ।

उनीहरूले विगत एक वर्षमा सूचना प्राप्त गर्नमा ढिलाइ, मिडिया कानूनको अभाव र आर्थिक कठिनाइहरूजस्ता चुनौतीहरूको सामना गरेको जनाएका छन् । पत्रकार जबिहुल्लाह सरिफीलाई उद्धृत गर्दै टोलो न्यूजले अफगानिस्तानका पत्रकारहरूले सूचनाको पहुँचको अभाव र आर्थिक चुनौतीहरूसहित धेरै समस्याहरूको सामना गरिरहेको जनाएको छ ।

पत्रकार मोहम्मद मोहम्मदीले टोलो न्यूजलाई पत्रकारहरूले सूचनाको पहुँच र मिडिया कानूनको कार्यान्वयन गर्न आह्वान गरिरहेको बताएका छन् । अफगान पत्रकारहरूको संगठनले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२५ मा पत्रकारको अधिकार उल्लंघनमा १८% वृद्धि भएको जनाएको छ ।

अफगान पत्रकार सुरक्षा समितिले भने सन् २०२४ को तुलनामा सन् २०२५ पत्रकारका सुधार भएको बताएको छ । समितिका अनुसार सरकारी संस्था र पत्रकारबीच समझदारी स्थापित भएको छ । समितिका प्रमुख जामिल वेकारले टोलो न्यूजलाई सरकारी संस्था र मिडियाबिच समझदारी हुनुका साथै दृष्टिकोण परिवर्तन भएको बताए । यद्यपि सूचना तथा संस्कृति मन्त्रालयले भने हाल सम्म कुनै टिप्पणी नगरी पत्रकारहरूको समर्थनमा जोड दिएको जनाइएको छ ।

धेरै पत्रकारहरूले टोलो न्यूजलाई जानकारीको पहुँचमा चुनौतीहरू अझै पनि बाँकी रहेको र यस क्षेत्रमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् । सूचना तथा संस्कृति मन्त्रालय र सम्बन्धित संस्थाहरूलाई पत्रकारहरूसँग सधैं सहयोग गर्न आह्वान गरेका छन् भने सूचनामा पहुँचका लागि पत्रकार र मिडियालाई समयमै जानकारी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । अफगानिस्तान पत्रकार युनियनले सूचनाको पहुँच सबै नागरिकहरूको अधिकार हो भन्ने कुरामा जोड दिँदै सूचनाले पारदर्शिता पनि सुनिश्चित गर्ने टोलो न्यूजले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्