फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबारे फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाइ घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिए । सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहन्छन् भन्ने आफ्नो विश्वास दोहोर्याए । यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् ।
संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गरे । विशेष गरी रुसले कब्जा गरेका युक्रे नी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गरे ।
वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गरे । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाएका छन् । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताए । जेलेन्स्कीले शान्तिका लागि अमेरिकाको प्रयासप्रति धन्यवाद दिँदै ‘युक्रेन शान्तिका लागि तयार’ रहेको बताए ।
भेटपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग पुनः फोन वार्ता गर्ने योजना रहेको जानकारी दिए । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार आइतबारे भएको ट्रम्प–पुटिन वार्ता अमेरिकी पक्षको पहलमा भएको र ‘मैत्रीपूर्ण तथा व्यावहारिक’ रहेको थियो । जेलेन्स्कीसँगको भेटपछि ट्रम्प र पुटिन ‘तुरुन्तै’ फेरि कुरा गर्न सहमत भएको उशाकोभले बताए ।
तर उशाकोभले पूर्वी युक्रेनको डोनबास क्षेत्रलगायत विषयमा शत्रुताको पूर्ण अन्त्यका लागि किएभबाट ‘साहसी र जिम्मेवार राजनीतिक निर्णय’ आवश्यक पर्ने धारणा राखे । दुवै पक्षका अनुसार डोनबास क्षेत्रको भविष्य नै अहिलेको सबैभन्दा ठूलो अड्चन हो । राष्ट्रपति ट्रम्पले सम्झौता नजिकिएको दाबी गर्दै भने, ‘यो निकै कठिन मुद्दा हो तर समाधान सम्भव छ ।’ जेलेन्स्कीले पनि यो विषयमा युक्रेन र रुसबीच गहिरो मतभेद रहेको स्पष्ट पारे ।
यसबीच, जेलेन्स्की अमेरिका भ्रमणमा रहँदा पनि युक्रेनमा आक्रमण जारी रहे तापनि राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्यप्रति ‘गम्भीर’ रहेको विश्वास आफूलाई अझै रहेको बताए । उनले वार्ता असफल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् र ‘केही हप्ताभित्र स्थिति स्पष्ट हुने’ बताए । हालैका हप्ताहरूमा अमेरिकी शीर्ष वार्ताकारहरूले शान्ति योजनाका मस्यौदामा उल्लेखनीय प्रगति गरेको ट्रम्प–जेलेन्स्की भेटले देखाएको छ । जेलेन्स्कीका अनुसार करिब २० बुँदे प्रस्ताव ‘करिब ९० प्रतिशत तयार’ भइसकेको छ । अमेरिकाले युक्रेनलाई केही नाटो–जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ, जसको साटो युक्रेनले नाटो सदस्यता प्रयास स्थगित गर्न तयार रहेको सङ्केत गरेको छ ।
रुसतर्फबाट राष्ट्रपति पुटिनले कब्जा गरिएका चार क्षेत्र र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्याउँदै आउनुभएको छ । साथै, युक्रेनले नाटोमा सामेल हुने प्रयास त्याग्नुपर्ने, सेनाको आकार सीमित गर्नुपर्ने र रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्ने जस्ता शर्तहरू पनि राखिएका छन् । किएभले यी मागहरू सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ । क्रेमलिनले शान्ति सम्झौता सजिलै नटुंगिने चेतावनी दिँदै वार्ता लामो समय लिन सक्ने संकेत गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्प भने युक्रेन र रुसबीच युद्ध अन्त्यको सम्भावना अझै जीवित रहेको र प्रयास जारी रहनेमा आशावादी देखिनुहुन्छ ।
युक्रेन संकट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन् ।
फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए– लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, ‘मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।’
सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,’ तर युक्रेन संकट समाधान गर्न निकै कठिन भएको पनि उनले स्वीकार गरे । राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताए । ‘रणनीतिबारे हाम्रो टोलीबीच समन्वय अत्यन्तै महत्वपूर्ण छ, जसले शान्तिलाई नजिक ल्याउन मद्दत गर्छ,’ उनले थपे ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्ता ‘राम्रो र निकै फलदायी’ भएको बताएका थिए । रूसी राष्ट्रपति सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले संकट लम्ब्याउने र फेरि द्वन्द्व चर्किने जोखिम बढाउने साझा धारणा राखे ।
फ्लोरिडामा भएको भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।