नेभिगेशन
अर्थतन्त्र

सरकारको एकीकृत वित्तीय विवरण पेस

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । सोमबार महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष प्रतिवेदन छुट्टाछुट्टै पेस गरेका हुन् ।

संघीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ ।

‘आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड छ लाख रुपैयाँले ऋणात्मक रहे पनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक रहेको छ’, कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संघ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) का विभिन्न कोषको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख रुपैयाँले धनात्मक रहन गएको छ ।’ नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको विवरण तथा प्रतिवेदनमा संघ, प्रदेश, स्थानीय सरकार र बजेट प्रणाली बाहिरका निकायका प्रचलित कानूनले तोकेका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र