नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – साता कारोबारको पहिलो दिन आइतबार ४७ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन दोहोरो अंकले घटेको छ । नेप्से १०.५३ अंकले घटेर २,६२२.८८ को बिन्दुमा कायम भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । चार अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको एक करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १६५ वटाको शेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ८५ कम्पनीका शेयरधनीले भने यसदिन कमाएका छन । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

सूचीकृत १३ समूहमध्ये विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूह घटेका हुन् ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै ग्लोबल आइएमई समुन्नत योजना–२को एकाइ मूल्य पनि ९.९४ प्रतिशत बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको २३ करोड दुई लाख ४१ हजार ९३६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

लगानीकर्ताको सम्पत्ति सोमबार मात्रै १८ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ६ खर्ब रुपैयाँ घटेर १४ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र