नेभिगेशन
अर्थतन्त्र

गोल्याण ग्रुपका अध्यक्ष सम्मानित

काठमाडौं – जेनजी आन्दोलनपछि प्रहरी कार्यालयको पुनःस्थापनामा सघाएका गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई नेपाल प्रहरीले सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गोल्याणलाई सम्मान गरेका हुन् ।

जेनजी आन्दोलनपछि मुलुकको परिवर्तित परिस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले हाम्रो प्रहरी अभियान सुरु गरेको छ । अभियानलाई सफल बनाउन गोल्याण ग्रुपले प्रहरी कार्यालयहरूको पुनर्स्थापनामा २१ लाख १ हजार ३९५ रुपैयाँ बराबरको सहयोग दिएको छ ।

अध्यक्ष गोल्याणले संकटका बेला समाजका लागि प्रहरीलाई साथ सहयोग प्रदान दिइएको बताए । उनले भने, ‘उच्च मनोबल बोकेको सबल र सक्षम प्रहरीले मात्र आफ्नो जिम्मेवारी सही रुपमा निर्वाह गर्न सक्दछ ।

यसका लागि प्रहरीका भौतिक संरचना पनि सुरक्षित र स्तरीय हुनुपर्दछ ।’ आमनागरिकको सुरक्षा र समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्ने  सन्दर्भमा गोल्याण ग्रुपले आगामी दिनमा पनि प्रहरीसँग हातेमालो गर्ने  उनले बताए । काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा महानगरका उपप्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षक ओमप्रसाद अधिकारी, माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालगायत सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र