नेभिगेशन
प्रदेश

काठमाडौंमा चोरिएको ६५ लाख दाङबाट बरामद

काठमाडौं । काठमाडौंको एउटा घरमा गरेको चोरीको सीसीटीभी फुटेजले आरोपित व्यक्ति र चोरिएको रकम दाङबाट बरामद भएको छ । फुटेजका आधारमा चोरीमा संलग्नको शंका गरिएका युवकको घरमा खानतलासी गर्दा नगद ६५ लाख १७ हजार रुपैयाँ बरामद भएको छ । रकम बरामद भएपछि दाङको तुलसीपुर–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको विशालनगरमा बस्ने डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी भएको थियो । चोरी गरिरहेको सीसीटीभी फुटेज दाङ प्रहरीले पाएको थियो । त्यसमा देखिएका युवक केसी रहेको पहिचान भएपछि प्रहरीले घर यकिन गरी रातभर निगरानी गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार फुटेजमा देखिएका युवक केसी नै भएको भन्ने खुलेपछि घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौंबाट गोलौरास्थित घर फर्किएका थिए । केसीलाई मंगलबार रकमसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्