नेभिगेशन
प्रदेश

दाउरा बाँड्दै आगो बाल्दै

महोत्तरी । दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भंगाहा नगरपालिकाले बस्तीहरूमा दाउराका मुढा वितरण थालेको छ ।

नौवटै वडाका बस्तीहरू र कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए । ‘जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्यौं । पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पुर्‍याइएको छ,’ उनले भने, ‘शीतलहरमा जीउ तताउन थोरै राहत दिनेछ ।’

बस्ती बस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भंगाहाका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिए । दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उनको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उनले विभिन्न सामाजिक संघसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरूसँग अपिल गरेका छन् ।

‘हाम्रो नगर क्षेत्रमा मुसहर, बाँतरसहितका अत्यन्त गरिब बस्ती धेरै छन् । यो अप्ठ्यारो बेलामा यस्ता बस्तीमा थप राहतको जरुरी छ,’ उनले भने । जिल्लामा यसपालि पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन/चार दिनयता झन् बढ्दैछ । सुदूर उत्तरी भेगका बर्दिबास र गौशाला नगरक्षेत्रका पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा त्यसयता एकाध दिन मध्याह्नपछि झल्याकझुलुक घाम देखिए पनि मध्य र दक्षिणी भेगमा धुम्म छ ।

गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला–८ सँग सीमा जोडिएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताए । चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढिरहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्