नेभिगेशन
प्रदेश

ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध

राैतहट – ग्यास बुलेट पल्टिँदा चन्द्रपुर–४ दोस्रो लच्का नजिकै राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टि २११४ नम्बरको एलपीजी ग्यास बुलेट मंगलबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार बुलेट राजमार्ग वारपार भएर पल्टिँदा आवागमन अवरुद्ध भएको हो । बुलेट पल्टिएर बाटो छेकिएपछि सवारीसाधनहरूलाई बालचनपुर–जंलसहिया–धन्सार हुँदै वैकल्पिक मार्ग डाइभर्ट गरिएको जानकारी थापाले दिए ।

दुर्घटनामा भारतीय चालक ३७ वर्षीय पवन यादव घाइते भएका छन् । काँध र हातमा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको केही घण्टापछि ग्यास कम्पनीको प्राविधिक टोली आएर बुलेटको लिकेज बन्द गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ग्यासको लिकेज रोकेर ६ वटा क्रेनको सहायताले बुलेट उठाउने तयारी गरिएको थियो । लिकेज रोक्न नसकेपछि बुलेट उठाउन प्राविधिक डराए । आगलागीको जोखिम उच्च रहेकाले लिकेज रोक्ने काम सुरुमा गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

ग्यास लिक भइरहेकाले सुरक्षाका कारण दुर्घटनास्थलको ३ किलोमिटर वरिपरि मान्छे तथा सवारीसाधनहरू ओहोर दोहोर गर्नमा रोक लगाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लाबुङले जानकारी दिइन् । मंगलबार राति अबेरसम्म भए पनि बुलेट खाली गरेर उठाइ आवागमन खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्