नेभिगेशन
प्रदेश

डीडीसी सार्न थालिएपछि अत्तरियाका स्थानीय आन्दोलित

वडा कार्यालय र डीडीसीमा तालाबन्दी

कैलाली । अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । डीडीसीको कार्यालय अत्तरियाबाट धनगढी सार्ने प्रक्रिया सुरु भएपछि त्यसको विरोधमा स्थानीयले तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि डीडीसी अत्तरियाबाट हटाउन नहुने मागसहित आन्दोलन गर्दै आएका स्थानीयले एकाएक संस्थानमा जडान भएका उपकरण सार्न थालिएपछि कडा आपत्ति जनाएका छन् । उनीहरूले उपकरण सार्ने काम तत्काल रोक्दै त्यसका लागि ल्याइएका क्रेन र ट्रक फिर्ता पठाएका छन् । स्थानीय तारा देवी महराले विगत एक वर्षदेखि डीडीसी अत्तरियामै राख्नुपर्ने मागसहित विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको बताइन् । तर सम्बन्धित निकायले कुनै जानकारी नदिइ अचानक डीडीसी सार्न थालेपछि बाध्य भएर विरोध गर्नुपरेको उनको भनाइ छ ।

स्थानीयले डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डीडीसीलाई अत्तरियामा रोक्न स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । लामो समय देखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले एकाएक डीडीसीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै सार्ने काम रोकेका थिए । स्थानीयहरूले दुग्ध विकास संस्थान सर्दा स्थानीयहरूले प्रत्यक्ष रूपमा मर्का पर्ने उनिहरूले बताएका छन् ।

गत वर्ष पुस महिनामै डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेको भन्दै स्थानीयले विरोध गर्दै डीडीसीका लागि आवश्यक जग्गा गोदावरीमै उपलब्ध गराउन कार्यदल गठन गरिएको थियो । गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्षको संयोजकत्वमा गठन गरिएको कार्यदललाई डीडीसीका लागि आवश्यक जग्गा उपलब्ध गराउने काम दिइएको थियो । वडाध्यक्ष गोपाल दत्त भट्टले भने डीडीसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको बताउँदै आन्दोलनमा ऐक्यबद्धता रहेको बताए । उनले आफूहरूले आवश्यक जग्गा उपलब्ध गराउनको लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको बताए ।

गोदावरी नगरपालिकाले भने यसै क्षेत्रमा जग्गा उपलब्ध गराउने भन्दै बाहिर नजान आग्रह गर्दै आएको छ । दुग्ध विकास संस्थानले गोदावरी नगरपालिकामा भवन सहितको संरचना नपाइएपछि सार्न खोजेको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्