नेभिगेशन
अर्थतन्त्र

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखरास्थित एनसेलको डाटा सेन्टर अवलोकन गर्दै भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजनाको औपचारिक उद्घाटन गरेका छन् । अत्याधुनिक सर्भरमार्फत भोल्टे तथा भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) प्रणाली स्विच अन गर्दै मन्त्री खरेलले परियोजना उद्घाटन गरेका हुन् ।

क्षमता अभिवृद्धिपछि एनसेलले पोखरा डाटा सेन्टरमार्फत करिब ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा उपलब्ध गराउन सक्ने जनाएको छ । भोल्टे प्रविधिबाट उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) भ्वाइस कल तथा छिटो कनेक्ट हुने सेवा प्रदान हुने एनसेलले बताएको छ । त्यसैगरी, भोवाइफाइ सेवामार्फत प्रयोगकर्ताले कुनै पनि स्थिर वाइफाइ नेटवर्क प्रयोग गरी आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र कल रिसिभ गर्न सक्नेछन् । यो सेवाबाट एचडी भ्वाइस कल तथा एसएमएस पठाउनसमेत सकिनेछ । मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम स्थानहरूमा जहाँ वाइफाइ उपलब्ध हुन्छ, त्यस्ता ठाउँमा भोवाइफाइ उपयोगी हुने बताइएको छ ।

पोखरामा विभिन्न कार्यालयहरूको निरीक्षण तथा भेटघाटका क्रममा मन्त्री खरेलले डिजास्टर रिकभरी सेन्टरका रूपमा सञ्चालन भइरहेको एनसेलको पोखरा डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चीफ कर्पोरट एण्ड र गुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।

अवलोकनपछि मन्त्री खरेलले डिजिटल नेपाल निर्माणको लक्ष्यमा यस्ता पूर्वाधारले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै पोखरा डाटा सेन्टर डिजिटलाइजेसन ड्राइभको प्रमुख आधारभूत संरचनामध्ये एक भएको बताए। साथै उनले डाटा सेन्टरको सञ्चालन तथा व्यवस्थापनको प्रशंसा गरे । एनसेलका अधिकारीहरूका अनुसार सन् २०१२ मा स्थापना गरिएको यो डाटा सेन्टरले नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र