नेभिगेशन
खेलकुद

रंगशालामा किन्डर ओलम्पिक

दशरथ रंगशालामा मंगलबार थुप्रै स्कुलेको भेला थियो । उनीहरू रंगीचंगी पोसाकमा थिए । नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित १३ औं किन्डर ओलम्पिकमा उनीहरू सहभागी भएका हुन् ।

त्रिपुरेश्वरस्थित रंगशालामा भएको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सयजना विद्यार्थी सहभागी थिए । रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० जना सहभागी थिए । सहभागीको ‘मार्चपास’पछि पूर्वसांसद माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको ‘टर्च’ हस्तान्तरण गरेका थिए । अधिकारीसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले ‘टर्च’लाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए ।

विभिन्न १२ खेलमा प्रतिस्पर्धा गराइएको ओलम्पिकमा बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि थियो । महासंघका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागिताका साथ कार्यक्रम भएको बताए । आगामी संस्करण अझ भब्य रूपमा आयोजना गर्ने प्रतिबद्धता उनले गरे । यसअघि पुस ४ मा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई ‘टर्च’ हस्तान्तरण गरेका थिए । बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले २०१२ मा इसीइटीएले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद