काठमाडौ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका प्रभावित बन्दा फेरि विशेष महाधिवेशनको चर्चा शुरु भएको छ । कार्यतालिका अनुसार बुधबार पार्टीको वडा अधिवेशन सम्पन्न हुनुपर्ने थियो । तर, प्रक्रिया नै प्रारम्भ नहुँदा पुस अन्तिम साता तय महाधिवेशन नहुने निश्चित भएको छ । लामो रस्साकस्सीकाबीच गत मंसिर १५ गते केन्द्रीय समिति बैठकले पुस २६–२८ मा नियमित महाधिवेशन गर्नेगरि कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, हालसम्म कांग्रेसले क्रियाशील सदस्यताकै अन्तिम टुंगो लगाइसकेको छैन । कार्यतालिका अनुसार पुस १६ गते गाउँ, नगर, वडा, १७ गते गाउँपालिका, १९ गते प्रदेशसभा क्षेत्रीय, २१ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र जिल्ला भएका जिल्लाको अधिवेशन गर्ने उल्लेख थियो । त्यस्तै पुस २२ गते दुई वा सो भन्दा बढी क्षेत्र भएका जिल्ला, २३ र २४ गते प्रदेश र २६ देखि २८ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका थियो ।
यसअघि तय कार्यतालिका प्रभावित बन्दा निर्धारित मितिमा महाधिवेशन नहुने निष्कर्षमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् । बुधबार महामन्त्री थापाले अब विशेष महाधिवेशनतिर अगाडि बढेको घोषणा गर्दै पार्टी कार्यकर्तालाई त्यसका लागि तयार हुन सार्वजनिक अपील गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।’

महामन्त्री थापाले पुस मसान्तभित्रै विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको पनि बताएका छन् ।
सभापति शेरबहादुर देउवाले मंगलबार केही सञ्चारकर्मीहरूसँग फागुन २१ गते आम निर्वाचन हुने भएकाले त्यसअघि पार्टीको महाधिवेशन सम्भव नभएको बताएका थिए । त्यसको भोलिपल्ट महामन्त्री थापाले विशेष महाधिवेशनका लागि अघि बढेको घोषणा गरेका हुन् । कांग्रेसको संस्थापन पक्ष फागुन २१ अघि महाधिवेशन हुन नसक्ने पक्षमा छ ।
पार्टी फुटको संघारमा
कांग्रेस विधानको धारा १७(२) ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ’ भन्ने व्यवस्था छ । विशेष महाधिवेशनको माग राखेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित गत असोज २८ गते केन्द्रीय कार्यालय सानेपामा निवदेन दर्ता गराएका छन् ।
पुस २६–२८ मा नियमित महाधिवेशन तय भएपछि सो प्रस्ताव निस्तेज भएको थियो । तर, नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशनको प्रस्ताव स्वतः जागृत हुने विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए ।
कांग्रेस विधानको व्यवस्थाअनुसार पनि पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको बाध्यकारी व्यवस्था छ । कसैको इच्छा वा अनिच्छामा अब महाधिवेशन टार्न नमिल्ने महामन्त्री थापा बताउँछन् । विशेष अधिवेशन विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनको बुझाइ छ ।
तर, सभापति देउवा भने विशेष महाधिवेशनमा जाने अवस्था आए पार्टी विभाजन हुनेभन्दै सशंकित देखिन्छन् । उनले मंगलबार सञ्चारकर्मीहरूसँग आफ्नै निवासमा भएको कुराकानीमा पनि सो कुरा व्यक्त गरेका थिए । संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशन महामन्त्री थापाले भनेजस्तो पार्टीभित्रको एकता र आत्मविश्वासका लागि नभई विभाजनका लागि कारण बन्ने ठान्छन् । स.स्थापन निकट कांग्रेस नेता शिव हुमागाई महामन्त्री थापाको प्रस्ताव अघि बढे पार्टी विभाजनतर्फ अघि बढ्ने तर्क गर्छन् ।
‘पार्टीको नियमित महाधिवेशनमा जाने संस्थागत निर्णय भैसकेको र प्रक्रिया चलिरहेको अवस्थाका साथै फागुन २१ गतेको आम निर्वाचनको प्रक्रिया समेत अगाडि बढेको अवस्थामा संस्थागत निर्णय प्रक्रिया र सामूहिक नेतृत्वलाई सुदृढ बनाउनुको सट्टा महामन्त्रीज्यूको विशेष महाधिवेशनको कुराले पार्टीभित्र विभाजनको रेखा कोर्ने हो कि भन्ने चिन्ता पैदा गरेको छ,’ उनले भने ।
महामन्त्री पक्षधरले विशेष महाधिवेशनका लागि केही दिनअघि कानुनी परामर्श गरेका थिए भने केन्द्रीय कार्यालय सानेपा घेराउ अभियान नै चलाउने गृहकार्य गरेका छन् । महामन्त्री थापाले फागुन २१ को चुनावअघि पार्टीमा नयाँ नेतृत्व नआए नलड्ने घोषणा गरिसकेका छन् । जेनजी आन्दोलनलगत्तै पार्टीमा चुनाव अघि नेतृत्व फेर्न कस्सिएका थापा महाधिवेशन गराउनैपर्ने दबाबमा देखिन्छन् ।
उनले प्रतिष्ठाको विषय बनाएको महाधिवेशन नहुने अवस्था आए विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई काठमाडौं बोलाएर दबाब दिने र महाधिवेशन गरेरै छाड्ने बाटोमा थापा अघि बढेका छन् । यस्तो अवस्थामा संस्थापन पक्ष कुनै हालमता विशेष महाधिवेशनमा तयार नहुने अडानमा छ । महामन्त्री थापा र संस्थापन पक्ष आफ्नो अडानमा टसमस नदेखिँदा कांग्रेस फुटको संघारमा पुगेको ठानिएको छ ।