काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य : सामूहिक पहल’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार राजनीतिक दल र युवासँगको निरन्तर संवादमा रहेर तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने अवस्थामा पुगेको जानकारी दिइन् ।
विगत ७५ वर्षमा मुलुकमा भएका आधा दर्जन राजनीतिक आन्दोलन र पाँचपटक संविधान संशोधन भए पनि नागरिकको जीविकामा अपेक्षित सुधार नआएको र निराशा बढेको भनाइ उनले राखिन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा करिब ८४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको उल्लेख गर्दै ३३ अर्बभन्दा बढी निजी क्षेत्रको क्षति रहेको जानकारी दिइन् । उनले यो क्षतिपूर्ति गर्दै भविष्यमा ठूलो फड्को मार्न सरकार तयार रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको संरक्षणका लागि विभिन्न कदमहरू उठाइएको स्मरण गराइन् । जसमध्ये व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत माग सम्बोधन, कर भुक्तानी म्याद थप, बैंक कर्जाको पुनर्तालिकीकरण, बीमा दाबीको अग्रिम भुक्तानी, भन्सार तथा आन्तरिक राजस्व प्रशासन सुधार, र वैदेशिक लगानी प्रवर्द्धनसम्बन्धी प्रक्रिया सरलीकरण रहेका छन् । उनले सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रही सुधार प्रक्रिया अघि बढाउन प्रतिबद्ध रहेको भन्दै निजी क्षेत्रलाई आश्वस्त पार्न खोजिन् ।
‘ढलेका निजी क्षेत्रका संरचना पुर्ननिर्माण भएमा फेरि जलेर नष्ट नहोस् भनेर सबै पक्षले प्रतिज्ञा गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘उद्यमी व्यवसायीले सुरक्षित वातावरणमा लगानी गर्न सकून्, रोजगारी सिर्जना होस् र आर्थिक स्थायित्व कायम रहोस् ।’
कार्यक्रममा प्रधानमन्त्रीले भदौ २३–२४ गतेको आन्दोलनका क्रममा लुटपाट, आगजनी र तोडफोडमा संलग्न आपराधिक तत्वहरूलाई कानुनी दायरामा ल्याउन सरकार सक्रिय रहेको उल्लेख गरिन् । साथै निजी क्षेत्रले जारी व्यावसायिक आचारसंहिताको पालनामा प्रतिबद्धता जनाउनुपर्ने र निर्वाचनमार्फत स्थायित्वसहित उद्यमशीलता विकासमा सरकार तत्पर रहेको बताइन् ।