नेभिगेशन
प्रदेश

३० रुपैयाँमा खाना

गण्डकी । कास्कीको एउटा विद्यालयले विद्यार्थीलाई खान खुवाउने गरेको घटना समाचार बन्न पुगेको छ । कुनै पनि स्कूलले आफ्ना विद्यार्थीलाई खाना खुवाएको घटना समाचार बन्नुनपर्ने हो तर यहाँको एक स्कूलले साह्रै नै सस्तो दाममा विद्यार्थीलाई खाना खुवाउने कुराले सबैको ध्यान आकृष्ट भएको हो । यसै पनि पोखरालाई महँगो सहरका रूपमा लिने गरिन्छ । पोखराको अर्थतन्त्र पर्यटनमा आधारित भएकाले पनि होला खर्च गर्न सक्ने मान्छे आउने सहर भएका कारण पनि यहाँका मालवस्तु अलि महँगो हुन्छ भन्ने जनगुनासो सुन्न पाइन्छ ।

महँगीको यही महामारीबीच पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले भने आफ्ना विद्यार्थीलाई ३० रुपैयाँमा स्तरीय खाना खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार कक्षा सञ्चालन हुन्छ । विद्यार्थीहरू बिहान ७ः३० बजे स्कूल पुग्छन् । त्यही भएर विद्यालयले स्कूलमा खाना ख्वाउने कार्यक्रम सुरु गर्‍यो । तर किफायती मूल्यमा खाना खुवाउन पूर्वविद्यार्थीहरूले सहयोग गरे ।

विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताए । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उनले जनाए ।

‘विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्यक्रम अघि बढाएका छौं’, उनले भने, ‘कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।’ उनका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा समय हिँडेर आउने विद्यार्थी पनि छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्