नेभिगेशन
विश्व

जब १० घण्टासम्म चीनले घेर्‍यो ताइवानलाई

ताइपेई । चीनको सेनाले ताइवान वरिपरि १० घण्टासम्म प्रत्यक्ष गोलीबारीसहितको सैन्य अभ्यास सञ्चालन गर्‍यो । यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला ठूला सैन्य अभ्यासको गम्भीरतालाई निकै हल्का रूपमा प्रस्तुत गरे ।

मंगलबारे सम्पन्न ती सैन्य अभ्यासहरूले जनमुक्ति सेनाको (पीएलए) पूर्वी थिएटर कमान्डअन्तर्गत ताइवान वरिपरि थलसेना, नौसेना, वायुसेना र रकेट फोर्सको ठूला स्तरका अपरेसनको दोस्रो दिन पनि जारी राखेको थियो । फ्लोरिडास्थित आफ्नो मार–आ–लागो रिसोर्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै बोल्दै ट्रम्पले भने, ‘उनीहरूले त्यस क्षेत्रमा २० वर्षदेखि नौसैनिक अभ्यास गर्दै आएका छन् । अहिले मानिसहरूले यसलाई अलि फरक रूपमा हेर्न थालेका छन् ।’ ट्रम्पले आफू राष्ट्रपति सी चिनफिङसँग ‘उत्कृष्ट सम्बन्ध’मा रहेको र चिनियाँ नेताले अभ्यासबारे ‘मलाई केही पनि बताएका छैनन्’ भनी टिप्पणी गरे ।

उनले भने, ‘मलाई त्यो सैन्य अभ्यासका बारे कुनै चिन्ता छैन ।’ चिनियाँ सैन्य अधिकारीहरूले ‘जस्टिस मिसन २०२५’ नामक यो अभियानले पीएलएको युद्ध तयारी क्षमता, ताइवानका बन्दरगाहहरू नाकाबन्दी गर्ने क्षमता तथा बाह्य शक्तिहरूलाई रोक्ने क्षमताको परीक्षण गर्ने उद्देश्य राखेको बताएका छन् । यी अभ्यासहरू अमेरिकाले ताइवानलाई ११ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको ठीक ११ दिनपछि भएका हुन् । वासिङ्टन र ताइपेइबीचको अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार खरिद सम्झौता हो । चीनको रक्षा मन्त्रालयका प्रवक्ता झाङ सियाओगाङले ‘सम्बन्धित देशहरूलाई’ ‘ताइवान प्रयोग गरेर चीनलाई नियन्त्रणमा राख्ने भ्रम त्याग्न’ आग्रह गरे । बेइजिङले ताइवानमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र ताइपेइले दबाबलाई अनिश्चितकालसम्म प्रतिरोध गरे बल प्रयो ग गरेर नियन्त्रण लिने चेतावनी दिँदै आएको छ । पछिल्ला वर्षहरूमा चीन झन् आक्रामक बन्दै ताइवानको हवाई क्षेत्र र समुद्री क्षेत्रमा प्रायः दैनिकजसो सैन्य गतिविधि गर्दै आएको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार मंगलबारे बिहान ६ बजेसम्म १३० वटा चिनियाँ सैन्य विमान र १४ वटा नौसैनिक जहाजले गतिविधि गरेको पत्ता लगाइएका थिए । ती १३० उडानमध्ये ९० वटा ताइवानको उत्तर, मध्य, दक्षिण–पश्चिम र पूर्वी हवाई रक्षा पहिचान क्षेत्र (एडिज) भित्र प्रवेश गरेका थिए । एडिज देशको राष्ट्रिय हवाई सीमाभन्दा बाहिर फैलिएको क्षेत्र हो, जसले सम्भावित घुसपैठबारे प्रारम्भिक चेतावनी दिन्छ । ताइपेइका यातायात अधिकारीहरूले व्यावसायिक हवाई उडानमा आएको अवरोधका कारण एक लाखभन्दा बढी यात्रु प्रभावित भएको बताएका छन् ।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले यी अभ्यासहरूको निन्दा गर्दै बेइजिङमाथि ‘सैन्य डरधम्कीमार्फत क्षेत्रीय स्थिरता कमजोर बनाएको’ आरोप लगाए । उनले भने, ‘ताइवानले न त द्वन्द्व चर्काउनेछ न त विवाद उक्साउनेछ, तर धम्कीको सामना गर्दा कहिल्यै पछि हट्ने छैन ।’ उनले ताइपेइले ‘लोकतान्त्रिक साझेदार र मित्र राष्ट्रहरूसँग नजिकको समन्वय र सहकार्य’ कायम राखेको पनि उल्लेख गरे ।

पीएलएको सैनिक विज्ञान एकेडेमीकी अनुसन्धानकर्ता वाङ वेनजुआनले कम्युनिस्ट पार्टीको राष्ट्रवादी मुखपत्र ‘ग्लोबल टाइम्स’लाई भनेकी छन्, ‘जस्टिस’ शीर्षकले ‘ताइवान स्वतन्त्रता’, पृथकतावाद र बाह्य हस्तक्षेपको विरोध गर्ने उद्देश्य झल्काउँछ र अभ्यासको पूर्ण ‘वैधता र कानुनी आधार’ प्रदर्शन गर्छ ।

ताइवान वरिपरि सैन्य गतिविधिमा भएका जुनसकुै क्रियाकलापले अमेरिका–चीन सम्बन्धमा असर पर्न सक्छ । यसको अर्थ, गएको अक्टोबरमा विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धमा ट्रम्प र सीले गरेको नाजुक समझदारी पनि पर्छ ।

चीनको यो सैन्य अभ्यासले चीन र जापानबीचको तनाव पुनः उजागर गरेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले चीनले ताइवानमाथि आक्रमण गरे टो कियोबाट सैन्य प्रतिक्रिया आउन सक्ने संकेत गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व