जेनेभा । स्विस निजी बैंकहरूमा पछिल्ला दुई वर्षको अवधिमा एसियाली क्षेत्रबाट बढी नै सिफारिश र सोधपुछ गर्न थालेपछि ती बैंकले एसिया केन्द्रित शाखा विस्तारको क्रम तीव्र बनाएका छन् ।
बैंकरहरूका अनुसार एसियाली पारिवारिक अफिसहरू र ज्यादै धनी व्यक्तिहरूले आफ्नो पैसा स्विट्जरल्यान्डतर्फ सार्दैछन् । उनीहरूले भौतिक सम्पत्तिहरूमा सुन–चाँदी तथा दुर्लभ गहनाहरूका अतिरिक्त नगदको सुरक्षित आश्रयस्थलहरू खोजिरहेका छन् ।
ग्राहकहरूले आफ्ना लगानीहरूलाई कानूनी रूपमा स्विट्जरल्यान्डमा बुक र होल्ड गर्न चाहन्छन् । कामका हिसाबले तिनीहरू अन्यत्र बसोबास र काम गरे पनि उनीहरूका लागि स्विस बैंकहरू रोज्जामा पर्ने गरेको बैंकरहरू बताउँछन् ।
त्यसो त पछिल्लो समय स्विस बैंकहरूले गोपनीयताको क्षय भइरहेको देखेका छन् । त्यस्तै अफसोर लगानीमा अन्तर्राष्ट्रिय दबाबले यसको ती बैंकको स्थिति कमजोर बनाउने भविष्यवाणीहरू गरिरहेका छन् । त्यसका बाबजुद पनि स्विट्जरल्यान्डले विश्वभरिकै सम्पत्तिहरूको प्रमुख आश्रयस्थलका रूपमा आफ्नो स्थानलाई डगमगाउन छाडेको छैन ।
संसारभरका सम्पत्तिहरूको परिचालनबारे अध्ययन गर्ने बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार सन् २०२४ मा स्विट्जरल्यान्ड अफसोर सम्पत्तिको शीर्ष केन्द्रका रुपमा रहेको छ । यसले २.७४ ट्रिलियन डलर सम्पत्ति व्यवस्थापन गरेको थियो । हङकङ, सिंगापुर र दुबईजस्ता प्रतिद्वन्द्वी केन्द्रहरू पछिल्ला वर्षहरूमा निकै छिटो अघि बढेका छन् । बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार गत वर्ष हङकङमा २.६५ ट्रिलियन डलर सम्पत्ति व्यवस्थापन गरिएको थियो । जबकि सिङ्गापुरमा १.९२ ट्रिलियन डलर थियो तर यी दुई एसियाली केन्द्रहरू स्विस निजी बैंकहरूका लागि नयाँ ग्राहकहरूको स्रोत बनेका छन् र तीमध्ये धेरै सम्पत्तिहरू अन्ततः स्विट्जरल्यान्डतर्फ नै बग्ने गरेका छन् ।
बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स र स्विस नेशनल बैंकको तथ्यांकअनुसार हङकङ र सिंगापुरका बासिन्दाहरूको निक्षेपहरूको संख्या पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ । अधिकांश ग्राहकहरू अझै एसियामै बुकिङ गर्छन् तर स्विट्जरल्यान्डमा रुचि राख्नेहरूको प्रतिशत बढ्दै गरेको लोम्बार्ड ओडियर बैंकको एसिया बजार प्रमुख ओमार शोकुरले द फाइनान्सियल टाइम्सलाई बताए ।
‘विगतमा, थोरै ग्राहकहरूले मात्र स्विट्जरल्यान्डमा अतिरिक्त बुकिङ अनुरोध गर्थे,’ उनले भने, ‘अचेल भने बढ्दो संख्यामा ग्राहकहरूले स्विट्जरल्यान्डमा बुक गर्न सकिन्छ कि भनेर सोधिरहेका हुन्छन् । यो नयाँ आयाम सुरु हुँदैछ ।’
गएको एक दशकमा सम्पत्ति थुपार्ने ठाउँ हङकङ र सिंगापुर रहँदै आएकोमा पछिल्लो समय देखिएको परिवर्तनले भने त्यो ट्रेन्ड भत्किएको देखिएको केहीको दाबी छ ।
धेरै स्विस बैंकहरूले क्षेत्रको बढ्दो धनीहरूको सेवा गर्न एसियामा आफूलाई विस्तार गरिरहेका छन् । तिनले एसियामा निजी बैंक मोडेलको अग्रगामी भूमिका खेलेका थिए । बैंकरहरूका अनुसार, सन् २०१९ मा हङकङमा कडा नयाँ राष्ट्रिय सुरक्षा कानून बन्नु, त्यसपछि रुसको युक्रेन आक्रमण गर्नुजस्ता क्रियाकलापले एसियाका धनीहरूमा आफ्नो सम्पत्तिको सुरक्षाप्रति चिन्ता बढाइदिएको छ ।
जुरिचमा जुलियस बेयरको एसिया डेस्क प्रमुख क्रिस्टियन क्यापेलीले सन् २०१० मा एसियाली ग्राहकहरूको स्विट्जरल्यान्डमा बुकिङको आवश्यकता ‘धेरै सानो’ रहेको बताए । उनले थपे, ‘त्यो बेला कुनै फाइदा भएन । सिंगापुरजस्ता ठाउँमा बुकिङ उत्तिकै राम्रो थियो ।’ सन् २०१९ पछि भने धेरै परिवर्तन आएको उनको बुझाइ छ । उनले थपे, ‘विभिन्न देशमा नीतिनियमहरू कडा हुँदै जाँदा र युद्धजस्ता स्थितिहरू बढ्दै जाँदा एसियाका धनीमानीहरूले आफ्नो सम्पत्ति सुरक्षित राख्ने पारम्परिक ठाउँ खोज्न थालेको महसूस गर्न सकिन्छ ।’
एलजीटी प्राइभेट बैंकिङका स्विट्जरल्यान्डमा एसिया–प्यासिफिक व्यवसायका प्रमुख क्रिस्टियन फ्रिएको भनाइ छ, ‘हामीले देखेका अधिकांश एसियाली ग्राहकहरूले आफ्नो प्रभाव क्षेत्रबाहिर आफ्नो सम्पत्तिको लगभग १० देखि १५ प्रतिशत राख्ने गर्छन् र कहिलेकाहीँ त यो प्रतिशत अझ बढी हुन्छ । जब तिनीहरूले एसिया बाहिरको ठाउँ छान्छन्, त्यो बेला उनीहरूको छनोट चाहिँ स्विट्जरल्यान्ड नै हुने गरेको छ ।’