नेभिगेशन
अर्थतन्त्र

हुलास स्टिलको सौर्य ऊर्जा प्लान्ट

बारा – नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बाराको सिमरा स्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणालीको औपचारिक उद्घाटन गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा नेपाल सरकारको प्राविधिक मार्गदर्शन र सहयोगमा यो परियोजना सम्पन्न भएको हो । औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त सौर्य प्लान्टले सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ । यसअघि नै हुलास स्टिलले आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन र कलर कोटिङ लाइन लाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ । जसले जीवाश्म इन्धनको प्रयोग घटाउँदै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको कम्पनीको दाबी छ ।

नयाँ सौर्य ऊर्जा प्रणाली सञ्चालनमा आएपछि स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन बढ्ने र कार्बनडाइक्साइड उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ । यसले ऊर्जा दक्षता सुधारका साथै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सब्सिडी व्यवस्थाले औद्योगिक क्षेत्रमा रूफटप सोलार प्रणाली जडानलाई थप प्रोत्साहन दिएको छ । जिम्मेवार उत्पादन, जलवायु कार्य र दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धतासँग मेल खाने यो पहलसँगै हुलास स्टिलले वातावरण, सामाजिक र सुशासनको सिद्धान्तमा आधारित नेतृत्वलाई अझ सशक्त बनाएको कम्पनीको दाबी छ । कम्पनीले यसमार्फत नेपालको हरित र दिगो भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र