नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको सुनचाँदी कर्जा

काठमाडौं – अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा सहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा सहज र सुरक्षित कर्जा सेवा प्रदान गर्ने जनाएको छ ।

नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी बैंकले यो विशेष कर्जा योजना ल्याएको हो । पछिल्लो समय सुनचाँदी गर्जो टार्ने साधन मात्र नभई लगानीको भरपर्दो विकल्पका रूपमा समेत प्रयोग हुँदै आएको अवस्थामा बैंकले ग्राहकको वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै कम ब्याजदर, छरितो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो सुविधा उपलब्ध गराउने जनाएको छ ।

ग्राहकहरूले सुन तथा चाँदी धितो राखी कर्जा लिन सक्नेछन् । साथै, कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नका लागि समेत बैंकले कर्जा सुविधा उपलब्ध गराउनेछ । कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ ।

हाल यो सेवा न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगञ्ज, हेटौंडा र भैरहवा शाखामार्फत प्रदान गरिने बैंकले जनाएको छ । यद्यपि, सुनचाँदी धितो कर्जाको निवेदन बैंकका जुनसुकै शाखा कार्यालयबाट पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा पनि विभिन्न अवसर तथा चाडपर्वहरूमा ग्राहकहित केन्द्रित नवीनतम् सेवाहरू ल्याउँदै जाने जनाएको छ । बैंकले विगत ३१ वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र