नेभिगेशन
राजनीति

लेखकमाथिको स्थानहद फुकुवा

काठमाडौं – कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकमाथि विदेश र जाँचबुझ आयोगको स्वीकृति नलिई काठमाडौं उपत्यकाभन्दा बाहिर जान नपाउने गरी लगाइएको स्थानहद फुकुवा भएको छ । गत भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगको बिहीबारको निर्णयअनुसार प्रतिबन्ध फुकुवा भएको हो ।

लेखकमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराउन आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाएको छ । आयोगले गत सोमबार पूर्वगृहमन्त्री लेखकको बयान लिएको थियो । लेखक केपी शमौ ओली सरकारका गृहमन्त्री थिए । संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । तर, लेखकले आयोगमा बयान दिँदै प्रदर्शनमाथि बल प्रयोग गर्न आफूले सुरक्षा निकायलाई आफूले निर्देशन नदिएको भन्दै जिम्मेवारी लिनबाट पन्छिएका थिए । 

गोली चलाउन आदेश दिने आफ्नो अधिकारै नभएको जिकिर उनले गरेका थिए । त्यसो त भदौ २३ मा १९ जनाको ज्यान गएपछि भोलपिल्ट लेखकले पदबाट राजीनामा दिएका थिए । लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । आयोगले लेखकको बयान सकिएपछि स्थानहद फुकुवा गरेको हो ।

भदौ २३ र २४ को घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद भने कायमै छ ।

अब आयोगले ओलीको बयान लिने तयारी गरेको र त्यसका लागि पत्र लेख्ने अध्यक्ष गौरीबहादुर कार्कीले बताएका छन् । यसअघि बयान लिएपछि आयोगले पूर्वगृहसचिव, तत्कालीन सुरक्षा निकायका प्रमुखमाथिको स्थानहद पनि फुकुवा गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्